सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच भेटवार्ता
सभामुख डीपी अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेट गरेकी छन्। भेटका क्रममा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र साझा चासोका विषयमा विचार आदानप्रदान भएको छ।
भेटमा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला अमेरिकाले देखाएको ऐक्यबद्धता र पुर्याएको सहयोगका लागि अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गरे।
सो अवसरमा सभामुख अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (IPU) को १५३ औँ महासभामा नेपालका तर्फबाट प्रस्तुत आपत्कालीन प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएको जानकारी गराए। नेपालले ‘जलवायुसम्बन्धी विपद्को सामना गर्न तथा हिमालयन क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रको उत्थानशीलता सुदृढ गर्न तत्काल संसदीय पहल’ विषयक प्रस्ताव पेस गरेको थियो।
जलवायु परिवर्तनका कारण सिर्जित विपद्बाट हुने क्षति न्यूनीकरण, पूर्वतयारी र उत्थानशीलता सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय तथा अन्तरसंसदीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा सभामुख अर्यालले जोड दिएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस