उपसचिव तहको परीक्षा रोक्न निर्वाचन आयोगको आग्रह, लोकसेवा आयोग भने अनिच्छुक
निर्वाचन आयोगले उपसचिव तहको परीक्षा स्थगित गर्न लोकसेवा आयोगलाई पत्र पठाएको छ ।
निर्वाचनको समयमा खटिने शाखा अधिकृतहरूले परीक्षाको तयारीका लागि समय नपाउने भएकाले परीक्षा सार्न आग्रह गर्दै आयोगले लोकसेवा आयोगलाई औपचारिक पत्राचार गरेको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनको अधिकांश कार्य शाखा अधिकृतमार्फत हुने भएकाले उनीहरू परीक्षा दिन नपाउने अवस्था सिर्जना हुन सक्छ । “निर्वाचनको काम गर्ने अधिकांश कर्मचारी शाखा अधिकृत हुन् । तिनीहरूले जाँच दिन नपाउने अवस्था हुन्छ,” भण्डारीले भने, “त्यसैले परीक्षा स्थगित गर्न आयोगले निर्णय गरेर पत्र पठाएको हो ।”
तर लोकसेवा आयोगले भने परीक्षा स्थगित गर्दा समग्र प्रक्रिया अवरुद्ध हुने भन्दै निर्वाचन आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिरहेको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले निर्वाचन आयोगबाट पत्र प्राप्त भएको र त्यसबारे अध्ययन भइरहेको जानकारी दिएका छन्।
यसैबीच, निर्वाचन आयोगले सञ्चालन भइसकेका परीक्षाहरूको नतिजा प्रकाशन पनि केही समयपछि मात्र गर्न लोकसेवा आयोग तथा प्रदेश लोकसेवा आयोगहरूलाई सुझाव दिएको छ ।
स्वीकृत भइसकेका परीक्षाहरू सञ्चालन गर्ने तर तत्काल नतिजा सार्वजनिक नगर्न निर्वाचन आयोगले आग्रह गरेको हो । तर लोकसेवा आयोगले भने सहसचिव तहका परीक्षाहरूको नतिजा प्रकाशन गर्ने तयारी भइरहेको जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस