मधेसका मुख्यमन्त्री सोनल आज विश्वासको मत लिँदै, बहुमत जुटाउन सत्ता साझेदारीको तयारी
पूर्वमुख्यमन्त्री सिंह र साहले सोनललाई मत दिने नदिने स्पष्ट नभएको
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। असोज ३० गते शपथ लिएका उनले आज विश्वासको मत लिन लागेका हुन्।
शपथ ग्रहणकै दिन विना विभागीय दुई मन्त्री नियुक्त गरेका सोनलले विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। मधेस प्रदेशका एक सांसदका अनुसार विश्वासको मत पाएपछि उनले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन्।
तर, जनमत पार्टीमा भएको विभाजन र जसपाका एक सांसदविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सोनललाई आज बहुमत जुटाउन चुनौती देखिएको छ। त्यसबाट पार पाउन उनले नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीसँग सत्ता साझेदारीको तयारी गरेका छन्। स्रोतका अनुसार, सोनलले नागरिक उन्मुक्तिकी सांसद प्रमिला देवी सिंह र संघीय समाजवादीकी सांसद विमला अन्सारीलाई मन्त्री बनाउने आश्वासन दिएका छन्।
मुख्यमन्त्री नियुक्त हुँदा सोनललाई जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा (एकीकृत समाजवादी) का ७ सांसदको समर्थन थियो। एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ।
प्रदेशसभामा एमालेका २५, कांग्रेसका २२ र राप्रपाको १ सिट छ। सोनलले यी दुई ठूला दल कांग्रेस र एमालेलाई बाहिर राखेर सरकार बनाएका हुन्। जनमत विभाजनपछि निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन साहले फरक दल रोजेका छन्। उता, जसपाका सांसद सरोजकुमार सिंह अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दा कारण निलम्बनमा परेकाले आजको मतदानमा सहभागी हुन पाउने छैनन्।
पूर्वमुख्यमन्त्री सिंह र साहले सोनललाई मत दिने नदिने स्पष्ट नभएकाले विश्वासको मतमा उनको परीक्षण कठिन हुने देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस