सर्लाहीमा २८ वटा नयाँ मतदान केन्द्र थप
सर्लाहीमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६२८ वटा मतदान केन्द्र कायम गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यसअघि रहेका मतदान केन्द्रमा २८ वटा नयाँ केन्द्र थपिएसँगै जिल्लाभरि मतदान केन्द्रको संख्या ६२८ पुगेको हो।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीका ३१२ मतदान स्थलमा ६०० वटा मतदान केन्द्र रहेका थिए। मतदाता संख्या वृद्धि भएपछि यस पटक २८ वटा नयाँ मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख तथा जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार मतदान स्थलको संख्या यथावत् राखी नयाँ मतदाता थपिएको आधारमा मतदान केन्द्र संख्या बढाइएको हो। निर्वाचन घोषणा भएसँगै सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी मतदाता नामावली सङ्कलन गरेपछि सर्लाहीमा २२ हजार ५९५ जना नयाँ मतदाता थपिएका छन्।
आगामी निर्वाचनका लागि जिल्लामा कुल ५ लाख ११ हजार ६०६ जना अन्तिम मतदाता कायम भएका छन्। तीमध्ये २ लाख ७८ हजार ८३७ जना पुरुष, २ लाख ३२ हजार ७५८ जना महिला तथा अन्य ११ जना रहेका छन्।
जिल्ला सुरक्षा समितिका अनुसार सर्लाहीका ३१२ मतदान स्थलमध्ये १३१ वटा संवेदनशील र १५८ वटा अति संवेदनशील सूचीमा परेका छन्। निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले विभिन्न पालिकामा पुगेर मतदान स्थलको निरीक्षण सुरु गरिसकेका छन्।
मतदान स्थलको भौतिक अवस्था, सुरक्षा व्यवस्था लगायतका विषयमा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयसँग राय–सुझाव सङ्कलन भइरहेको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए। उनका अनुसार जिल्लाका ३१२ मतदान स्थलमध्ये आधाभन्दा बढीको निरीक्षण सम्पन्न भइसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस