Techie IT
२०८३ श्रावण ६, बुधबार

सर्लाहीमा मिटरब्याजी साहुको गुन्डागर्दी, आन्दोलनबाट फर्किएका पीडितमाथि साहुले गरे आक्रमण


मिटरब्याजी साहुको कुटपिटबाट सर्लाहीको बसबरिया गाउँपालिका–२ का इन्दल सहनी र उनको परिवार गम्भीर घाइते भएका छन्।

प्राप्त विवरण अनुसार, सहनीले स्थानीय मिटरब्याजी साहु लक्ष्मी कुर्मी राउतसँग ८ लाख रुपैयाँ ऋण लिएका थिए। 

ऋण लिने क्रममा ग्यारेन्टी स्वरूप सहनीको २६ कठ्ठा जमिन राजीनामा पास गरी साहुको नाममा राखिएको थियो। सावाँ-ब्याज चुक्ता गरेपछि जमिन फिर्ता गर्ने दुई पक्षबीच मौखिक सहमति भएको थियो।

पीडित सहनीका अनुसार उनले सुरुमा ६ लाख र पछि पटक-पटक गरी कुल १० देखि ११ लाख रुपैयाँ साहुलाई बुझाइसकेका थिए। वडा कार्यालयमा समेत जग्गा फिर्ता गर्ने लिखित सहमति भएको थियो। तर, साहु लक्ष्मी कुर्मीको निधन भएपछि उनका छोरा बिलास शाहले उक्त जग्गा सहनीलाई फिर्ता नगरी अर्कै व्यक्तिको नाममा बिक्री गरिदिए।

जग्गा अर्कैको नाममा बिक्री गरिए पनि विगत १० वर्षदेखि उक्त जमिनमा सहनी स्वयंले नै जोतभोग गर्दै आएका थिए। पीडित इन्दल सहनी मिटरब्याज विरुद्धको "पैदल न्याय मार्च" आन्दोलनमा समेत सहभागी थिए। आन्दोलन सकेर घर फर्किएलगत्तै साहु पक्षले सोही जग्गामा जबरजस्ती धान रोप्ने प्रयास गरेको थियो।

सो क्रममा साहु बिलास शाहको नेतृत्वमा उनका छोराहरू विशेषर शाह, लक्ष्मण शाह, जगदीश शाह, रामप्रवेश शाह र श्रीमतीसहितको समूहले सहनी परिवारमाथि सांघातिक आक्रमण गरेको हो।

आक्रमणबाट पीडित इन्दल सहनी, उनका छोराहरू उमेश सहनी र मुना सहनी तथा श्रीमती भगवती कुमारी सहनी गम्भीर घाइते भएका छन्। मिटरब्याजी साहुले जग्गा हडप्ने नियतले मरणासन्न हुने गरी आक्रमण गरेको पीडितको आरोप छ। घाइते चारै जनाको हाल बरहथवास्थित अस्पतालमा उपचार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट