सुनसरी कप्तानगञ्ज घटना: सद्भाव कायम गर्न राजनीतिक दल र नागरिक समाजको ५ बुँदे प्रतिबद्धता
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई पक्षबीच भएको झडपपछि उत्पन्न तनावलाई साम्य पार्न जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजले साझा पहल सुरु गरेका छन्।
जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, उद्योगी-व्यवसायी तथा विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरूले संयुक्त बैठक बसी शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न ५ बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
५ बुँदे संयुक्त प्रतिबद्धता
अवाञ्छित गतिविधि रोक्ने: घटनापछि देखिएका साम्प्रदायिक विवाद, हिंसा र हुलदङ्गाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोक्न सबै पक्षले आ-आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने।
संयम र संवादमा जोड: प्रतिशोध र आक्रोश छाडेर संयम, विवेक र वार्ताका माध्यमबाट समस्याको दीर्घकालीन समाधान खोज्न सर्वसाधारणलाई अपिल गर्ने।
भ्रामक सूचना र अफवाहमा रोक: सामाजिक सञ्जालमा उत्तेजक, भ्रामक र साम्प्रदायिक सद्भाव भड्काउने सामग्री पोस्ट नगर्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध गर्ने।
अभिभावकलाई विशेष आग्रह: प्रदर्शन र भिडभाडमा किशोर तथा युवाहरूको सहभागिता बढेकाले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई अनावश्यक रूपमा घरबाहिर नपठाउन र संयमित बनाउन ध्यान आकर्षण गराउने।
श्रद्धाञ्जली तथा समवेदना: सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्ने र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने।
सर्वपक्षीय बैठकपछि जारी गरिएको प्रतिबद्धता पत्रमा जिल्लाका प्रमुख राजनीतिक दलका नेतृत्व, नागरिक समाजका अगुवा र स्थानीय तहका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। यो साझा प्रयासले देवानगञ्ज र आसपासका क्षेत्रमा धमिलिएको सामाजिक सद्भाव पुनः कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।




तपाईको प्रतिक्रिया दिनुहोस