आर्यन सिग्देलकी भाञ्जी आर्हीको ‘टक्सिक ट्रुथ’ सार्वजनिक

अभिनेता आर्यन सिग्देलकी भाञ्जी आर्हीले आफ्नो पहिलो अङ्ग्रेजी गीत टक्सिक ट्रुथ सार्वजनिक गर्दै साङ्गीतिक क्षेत्रमा औपचारिक प्रवेश गरेकी छिन्। अष्ट्रेलियामा बसोबास गर्ने आर्हीले यो गीतमार्फत अन्तर्राष्ट्रिय स्तरमा करिअर सुरु गर्ने लक्ष्य राखेकी छिन्।
गीतको शब्द आर्ही र म्यागी एल. बान्र्सले लेखेका हुन् भने सङ्गीत फोसिल र नेप्सेकले तयार पारेका छन्। डार्क–पप, हिप–हप र नेपाली–एशियाली सङ्गीतको प्रभाव गीतमा समेटिएको आर्ही बताउँछिन्।
“टक्सिक ट्रुथ विभिन्न भावनाको मिश्रण हो। मैले यो गीत त्यतिबेला लेखेँ, जब म एकैचोटि धेरै फरक भावनाहरू अनुभव गरिरहेकी थिएँ,” आर्हीले भनिन्, “यसमा विषाक्त सम्बन्धको कथा छ, जहाँ बाहिर देखाइने भावना सधैँ साँचो हुँदैन, किनभने भित्र गहिरो र विषाक्त सत्य लुकेको हुन सक्छ।”
बाल्यकालदेखि नै संगीतमा रुचि रहेको बताउँदै आर्हीले थपिन्, “बाल्यमा गीत गुनगुनाउँदा निरन्तरता दिन सुझाव पाएकी थिएँ। मेरो जीवनको हरेक मोडमा गीतसङ्गीतले साथ दिएको छ, यही कारणले म यो पेशामा आइपुगेकी हुँ।”
नेपाली गीत गाउने चाहना पनि व्यक्त गर्दै उनले भनिन्, “अवसर पाएँ भने नेपाली गीत र परियोजनामा सहभागी हुनेछु। नेपाली सङ्गीतले मेरो जीवनमा ठूलो प्रभाव पारेको छ र म नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन चाहन्छु।”
गीतको भिडियोमा आर्ही स्वयं फिचर्ड छिन्। भिएफएक्सको भरपूर प्रयोग गरिएको यस भिडियोलाई दीपेन्द्र केसीले निर्देशन गरेका हुन्। इन्स्टलेशन आर्टको प्रयोग गरिएको भिडियोबारे निर्देशक केसीले भने, “यो त्रि–आयामिक कला हो, जसले दर्शकलाई कलाकृतिभित्रको वातावरणमा प्रवेश गराएर भावनात्मक, बौद्धिक वा सामाजिक सन्देश प्रदान गर्छ।”
भिडियोको क्रिएटिभ निर्देशन दिनेशजंग राणाले, छायाङ्कन विनोद श्रेष्ठले गरेका छन् भने पोस्ट–प्रोडक्सन पोस्ट प्रोमा सम्पन्न गरिएको हो। भिडियो आर्हीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस