एलओडी क्लबको सातौँ वार्षिकोत्सव विशेष कार्यक्रमसहित मनाउने तयारी
ठमेलस्थित चर्चित नाइटक्लब ‘एलओडी क्लब’ले आफ्नो सातौँ वार्षिकोत्सव विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाउने तयारी गरेको छ। क्लब सञ्चालनमा आएको सात वर्ष पुगेको अवसरमा मंगलबार विशेष कार्यक्रम आयोजना गरिने एलओडी क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए।
कुँवरका अनुसार वार्षिकोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ। क्लब स्थापना भएदेखि नै देशी–विदेशी कलाकारले यहाँ प्रस्तुति दिँदै आएका छन्।
उनले एलओडीले नेपाली संगीत क्षेत्रका कलाकारलाई अवसर दिने प्लेटफर्मका रूपमा आफूलाई स्थापित गरेको दाबी गरे। ‘हामीले क्लब स्थापना गरेर नेपाली सांगीतिक क्षेत्रका कलाकर्मीलाई स्थान दिएका छौँ। यहाँ धेरै सांगीतिक समूहले अवसर पाएका छन्,’ उनले भने।
कुँवरका अनुसार एलओडी केवल एउटा नाइटक्लब मात्र नभई नेपाली संस्कृति, प्रतिभा र राष्ट्रिय गौरवको प्रतीकसमेत बनेको छ। नेपाली संस्कृति र परम्परालाई समर्पित विशेष कार्यक्रममार्फत क्लबले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको उनको भनाइ छ। यसले राष्ट्रिय एकताको भावना अझ सुदृढ बनाएको उनले उल्लेख गरे।
रातको समयमा ठमेल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि एलओडी आकर्षक गन्तव्य बनेको दाबी गर्दै उनले प्रायः सबै आगन्तुक एकपटक भए पनि क्लब पुग्ने गरेको बताए।
रात्रिकालीन व्यवसायमा अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै कुँवरले कतिपय बेला प्राविधिक कठिनाइका कारण समस्या झेल्नुपरेको स्मरण गराए। यस्ता चुनौतीलाई मध्यनजर गर्दै क्लबले इन्टेरियरमा परिवर्तन गरिरहेको, बस्ने ठाउँ र लाइट प्रणाली सुधार गरिएको उनले जानकारी दिएका छन् ।
हाल एलओडी क्लब स्वदेशी र विदेशी पर्यटक दुवैका लागि लोकप्रिय गन्तव्य बनेको बताउँदै उनले क्लबमा १५० भन्दा बढी कर्मचारी रहेको, ६०० जनाको सिटिङ र करिब दुई हजार जनाको स्ट्यान्डिङ क्षमता रहेको जानकारी दिए।
क्लबले ग्राहक सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको जनाउँदै कुँवरले शुक्रबार र शनिबार भीड बढ्ने गरेको बताए।
एलओडी क्लब विभिन्न अन्तर्राष्ट्रिय सूचीकृत स्थानमा समेत परेको उल्लेख गर्दै उनले सन् २०२२ मा ५२औँ, २०२३ मा ४९औँ, २०२४ मा ५०औँ र २०२५ मा ४४औँ स्थानमा परिसकेको बताए। क्लबमा पूर्व राजा ज्ञानेन्द्र शाह, भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत पुगिसकेको उनले जानकारी दिए।
एलओडीमा यसअघि भारतीय, टर्की, जर्मनी र इटालीका कलाकारले प्रस्तुति दिइसकेका छन्। बलिउडका नेहा कक्कर, लक्की अली, अर्मन मल्लिक र इन्डियन आइडलका विजेता पवनदीपसहित टीम्मी ट्रम्पेट, स्टेबिन बेन र ज्योतिका टंगारीलगायतका कलाकारले पनि यहाँ आफ्नो प्रस्तुति दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस