Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

वीरगञ्ज भन्सारमा पेट्रोलियम पदार्थको आयातमा २५% गिरावट


वीरगञ्ज (पर्सा), मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हँुदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।     
    
मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रुपमा वीरगञ्ज चिनिन्छ । यहाँबाट चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु १२ अर्ब ६६ लाख ८० हजार बराबरको एक लाख ३५ हजार पाँच सय १८ किलोलिटर हाइस्पिड डिजेल आयात भएको छ ।     
    
भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार गत आ.वको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा हाइस्पिड डिजेलको आयात २५ दशमलव ३३ प्रतिशतले घटेको छ । डिजेल आयात घटेसँगै राजस्व सङ्कलन पनि २७ दशमलव ४३ प्रतिशतले घटेको छ ।     
    
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत हाइस्पिड डिजेल पाइप लाइनबाट आयात हुने गरेको छभने पेट्रोल ट्याङकरबाट नै ल्याउने गरिन्छ । अमलेखगञ्जस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यका अनुसार पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार्थको खपत घटेको हो । 

पूर्वाधार तथा विकास निर्माणका गतिविधि बढ्ने बित्तिकै आयात बढ्ने उहाँको बुझाइ छ । विद्युतीय सवारी साधन प्रति सर्वसाधारणको आकर्षण बढे सँगै पेट्रोलियम पदार्थको खपत पनि घटेको छ ।     
    
नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले वर्षायाम र सरकारी निकायले निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नदिँदा निर्माणक्षेत्रले अपेक्षाकृत गति लिन नसकेको गुनासो गरेका छन् । हाल निर्माणजन्य सामग्री र उपकरणको आयात घटेको छ । मनसुन र चाडपर्व सकिएपछि विकास निर्माणका गतिविधि चलायमान हुने उनको विश्वास छ ।     
    
चालु आवको तीन महिनामा पेट्रोल आयात पनि घटेको छ । चालु आवको असोज मसान्तसम्ममा रु छ अर्ब ५८ करोड ४६ लाख ८३ हजार बराबरको ७४ हजार सात सय १२ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा पेट्रोलको आयात २२ दशमलव ५२ प्रतिशतले घटेको थियो ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट