Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

गैरआवासीय नेपालीहरूलाई लगानी र सांस्कृतिक सम्पर्कमा जोड्न सरकार प्रतिबद्ध: मन्त्री भण्डारी


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली (एनआरएन)का सन्तानलाई नेपालसँग जोडेर उनीहरूलाई कला, संस्कृति, र भूगोलका माध्यमबाट पुर्खाको थात थलोबारे जानकारी दिन तथा नेपालमा लगानी गर्न अनुकूल वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नाराका साथ काठमाडौंमा सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को ग्लोबल सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले नेपाल सरकार र गैरआवासीय नेपालीबीचको सहकार्यले देशको आर्थिक विकास र समृद्धिमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

मन्त्री भण्डारीले गैरआवासीय नेपालीहरूको नागरिकता, मताधिकार, र सामाजिक सुरक्षाजस्ता प्रमुख मुद्दामा छलफल गर्नेगरी आयोजना गरिएको यो सम्मेलनले सरकारलाई नीतिगत सुधारका लागि मार्गदर्शन दिने बताए । उनले सरकार र एनआरएनबीचको सहकार्यलाई देशको समृद्धिका लागि महत्त्वपूर्ण कदमका रूपमा लिनुपर्ने धारणा राखे। 

मन्त्री भण्डारीका अनुसार, “यो सम्मेलनले नेपालमा लगानीको सकारात्मक सन्देश विश्वमा प्रवाह गर्ने विश्वास सरकार राख्दछ। गैरआवासीय नेपालीहरूको लगानी भित्र्याउन सरकारको तर्फबाट आवश्यक कानुनी र नीतिगत सहजीकरण गरिएको छ।”

गैरआवासीय नेपालीहरूले विदेशमा आर्जन गरेको पूँजीलाई जन्मभूमिमा लगानी गर्न सरकार इच्छुक रहेको जानकारी दिंदै मन्त्री भण्डारीले एनआरएन विकास कोषको स्थापना स्वागतयोग्य कदम भएको बताए । उनले यो कोषमार्फत नेपालमा रोजगारीका अवसरहरू सिर्जना गर्ने र नेपाली युवाहरूलाई विदेश जानु नपर्ने वातावरण बनाउनेमा सरकारको सदैव सहयोग रहने धारणा राखेका थिए ।

गैरआवासीय नेपालीहरूलाई लगानी प्रक्रियामा प्रोत्साहन गर्न सरकारले विशेष कानुनी प्रावधानहरू लागू गरेको मन्त्री भण्डारीले बताए । यो व्यवस्था अनुसार विदेशी नागरिकता वा स्थायी आवासीय अनुमतिपत्र प्राप्त एनआरएनहरूले नेपाल राष्ट्र बैंकको स्वीकृतिबाट सेयर, बण्ड, डिवेन्चरमा लगानी गर्न पाउनेछन्। साथै, यसरी भुक्तानी पाउने व्यवस्थामा विदेशी मुद्रामा भुक्तानी गर्नसक्ने प्रावधान पनि गरिएको छ।

गैरआवासीय नेपालीहरूलाई नेपालसँग भावनात्मक र सांस्कृतिक रूपमा जोड्न मन्त्री भण्डारीले कला, संस्कृति र नेपाली पहिचानका बारेमा निरन्तर जानकारी दिने कार्यक्रमहरूलाई प्राथमिकता दिइने बताएका थिए ।

गैरआवासीय नेपालीको योगदान र लगानीबाट नेपालको समृद्धि र आर्थिक रूपान्तरणको महत्त्वपूर्ण मार्ग प्रशस्त गर्ने लक्ष्य राख्दै यस सम्मेलनले गैरआवासीय नेपाली समुदाय र नेपाल सरकार बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट