Techie IT
२०८२ भाद्र १०, मंगलबार

गिरिबन्धु, यति र ओम्नी प्रकरण छानबिन कहाँ पुग्यो? कांग्रेस सांसदको गृहमन्त्रीलाई प्रश्न


प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले गिरिबन्धु जग्गा लगायतका भ्रष्टाचारका प्रकरणको छानबिनको अवस्थाबारे गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन्। 

कांग्रेस सांसद हृदयराम थानीले विगतमा संसदमा उठेका भ्रष्टाचारका मुद्दाहरू – गिरिबन्धु जग्गा, क्याटोन्मेन्ट, यति र ओम्नी प्रकरणबारे अघिल्लो सरकारले सुरु गरेको छानबिन अहिले कहाँसम्म पुगेको भनी गृहमन्त्री लेखकसँग जानकारी माग गरेका थिए।

थानीले वर्तमान सरकारमा रहेका भ्रष्टाचारका मुद्दाहरूलाई यथासक्य छिटो सम्बोधन गर्न माग गर्दै भने, “सरकारले यी प्रकरणमा ठोस कदम चाल्नुपर्ने छ, अन्यथा जनतामा असन्तोष बढ्दै जानेछ। अति भएमा बिस्फोट हुन सक्छ भन्ने ख्याल राख्नुपर्छ।” उनले मुलुकमा शासन व्यवस्था परिवर्तन भए पनि जनताको जीवनस्तरमा परिवर्तन नआएको प्रति असन्तोष प्रकट गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधित्व गर्दै गृहमन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गरेका थिए। 

प्रधानमन्त्री समितिमा आउने कुरा भए पनि अन्तिम समयमा गृहमन्त्रीलाई प्रतिनिधिका रूपमा पठाइएको थियो।

सांसद थानीले सरकारी कार्यालयमा पहुँच नहुने नागरिकका कामकाज ढिलाइ हुने समस्या औंल्याउँदै, “सांसदको अवस्था नै यस्तो हुँदा सर्वसाधारणको अवस्था के होला?” भनी प्रश्न गरे। 

उनले सरकारी कार्यालयहरूमा चिनजान नभएसम्म कागज एक टेबलबाट अर्को टेबलमा नसर्ने गरेको आफ्नै अनुभव साझा गरे।

बैठकमा कांग्रेसकै सांसद सरिता प्रसाईंले पनि भ्रष्टाचार नियन्त्रणमा सरकारको प्रभावकारी भूमिका नभएको भन्दै कानुन सबैलाई समानरूपमा लागू हुनुपर्ने र कोही कानुनभन्दा माथि हुन नसक्ने बताए। 

प्रसाईंले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारलाई थप प्रयास गर्न आग्रह गरिन्।

समितिको यस बैठकमा सांसदहरूले वर्तमान सरकारका गतिविधिहरूमा पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने, जनताको आक्रोशलाई सम्बोधन गर्नका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट