नेपाली काँग्रेसको युवा संकल्प यात्रा कात्तिक २३ गतेदेखि
संकल्प यात्राले उद्यमशीलता, नवप्रवर्तन, र कृषिमा लगानी प्रवर्द्धन गर्दै युवाहरूलाई विभिन्न क्षेत्रमा उत्प्रेरित गर्ने उद्देश्य लिएको छ।
नेपाली कांग्रेसका युवा नेताहरूको संयोजनमा मेची–महाकाली ‘युवा संकल्प यात्रा’ कात्तिक २३ गतेबाट १० बुँदे एजेण्डासहित सञ्चालन हुने भएको छ। यस अभियानले युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित, र जनअधिकारका पक्षमा ऐक्यबद्ध गराउँदै समृद्ध नेपालको निर्माणमा उद्यमशील बन्न प्रेरित गर्ने उद्देश्य राखेको छ।
अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले उद्यमशीलतालाई नेपालको विकासको लागि अपरिहार्य ठहर गर्दै, राजनीतिक उपलब्धिको संरक्षणमा युवाशक्तिको महत्त्वपूर्ण भूमिका रहने बताए। शाहीका अनुसार, कृषिप्रधान मुलुकमा कृषिको आधुनिकीकरण गर्दै लाखौँ युवालाई स्वदेशमै रोजगार सिर्जना गर्न सकिने छ।
अभियानले युवालाई आर्थिक विकासको साझेदार बनाउन, लोकतान्त्रिक मूल्य मान्यता प्रवर्द्धन, दण्डहीनताको अन्त्य, भ्रष्टाचार उन्मूलन, सुशासन, र राष्ट्र निर्माणको नेतृत्व लिन उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ। मेचीनगरको काँकडभिट्टाबाट कात्तिक २३ गते सुरु हुने यात्रा इटहरी, लहान, जनकपुर, वीरगञ्ज, भरतपुर, वीरेन्द्रनगर, कोहलपुर हुँदै मङ्सिर ४ गते महाकालीमा समापन हुनेछ।
यात्रामा सहभागी नेताहरूले युवाका रोजगारी सुनिश्चितता, भ्रष्टाचार विरुद्ध आवाज, र महङ्गी नियन्त्रणका लागि आवाज उठाउनुका साथै, सहकारीमा ठगिएका पीडितलाई राहत दिलाउने र ठगलाई कारबाही गर्न दबाब सिर्जना गर्ने कुरा प्रेस विज्ञप्तिमा उल्लेख छ।
संकल्प यात्राले उद्यमशीलता, नवप्रवर्तन, र कृषिमा लगानी प्रवर्द्धन गर्दै युवाहरूलाई विभिन्न क्षेत्रमा उत्प्रेरित गर्ने उद्देश्य लिएको छ। यस यात्राले नेपाली कांग्रेसको नेतृत्वमा राजनीतिक सिद्धान्त र नैतिक मूल्यहरूमा आधारित राजनीति स्थापना गर्ने दिशा समात्ने पनि स्पष्ट गरिएको छ।
यात्रामा नेता भूपेन्द्रजङ्ग शाही, रञ्जित कर्ण, धर्मेन्द्र नेम्वाङ, प्रेमिका राना, राधिका हमालसहित ४० जना केन्द्रीय प्रतिनिधि सहभागी हुने छन्।



तपाईको प्रतिक्रिया दिनुहोस