Techie IT
२०८३ जेष्ठ ११, सोमबार

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी सँगै नेपालमा भारतीय अधिकारीहरूको सक्रियता बढ्दै


नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको तयारीमा जुट्दै गर्दा नेपालमा भारतीय अधिकारीहरूको सक्रियता बढ्न थालेको छ। भारतीय अधिकारीहरू नेपालको राजनीतिक परिदृश्यमा गहिरो चासो राख्दै, विभिन्न दलका नेताहरूसँग भेटघाट र छलफलमा व्यस्त छन्।

नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवले हालै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओली र देउवाबिच सोमबार साँझ भएको भेटपछि, मङ्गलबार बिहान श्रीवास्तवले देउवासँग भएको भेटलाई राजनीतिक सरगर्मीको रूपमा हेरिएको छ।

यसै क्रममा, भारतीय जनता पार्टीका नेता विजय जोली समेत सोमबार नेपाल आइपुगेका छन्। भाजपामा नेपाल मामिलाका जानकार मानिएका जोलीले नेपाली राजनीतिक व्यक्तित्वसँग घनिभूत भेटघाट गरिरहेका छन्। यद्यपि, जोली हाल भाजपामा कुनै औपचारिक जिम्मेवारीमा छैनन्, तर उनलाई पार्टीकै निर्देशनमा नेपाल पठाइएको स्रोतले जनाएको छ।

यसैगरी, भारतीय एसएसबीका महानिर्देशक अमृतमोहन प्रसाद पनि सीमा सुरक्षा बैठकमा सहभागी हुन केही दिनअघि नेपाल आएका थिए र हालै स्वदेश फर्किएका छन्। बुधबार भारतीय आर्मीका चिफ उपेन्द्र द्विवेदी पनि नेपाली सेना प्रमुख अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आउँदैछन्। पाँच दिनसम्म नेपालमा रहने द्विवेदीले गार्ड अफ अनर पाउने साथै पोखरा भ्रमण गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीले भारतबाट औपचारिक निमन्त्रणा नपाएपछि चीनतर्फको निमन्त्रणा स्वीकार गर्दै मंसिर १७ गते चीन जाने तयारी गरिरहेका छन्। 

ओलीको चीन भ्रमणका एजेण्डामा बीआरआई परियोजना, सीमा नाका खुला गर्ने, यातायात तथा अन्य पूर्वाधार आयोजनामा सहकार्य लगायत विषय समेटिएको बताइएको छ। तर, कांग्रेसले बीआरआई परियोजनामा सहमति जनाउन सकेको छैन। कांग्रेसले अनुदानमा मात्रै परियोजना स्वीकार्न सकिने अडान राख्दै आएको छ।

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि ‘भारतविरुद्ध चाइना कार्ड प्रयोग गरेको’ आरोप लगाएपछि भारतका अधिकारीहरू नेपाली नेतासँग घनीभूत छलफल गरिरहेका छन्। भारतीय पक्षले ओलीको चीन भ्रमणमा हुने सम्भावित समझदारी प्रति चासो राख्दै नेपालमा आफ्नो कूटनीतिक उपस्थितिलाई बढाइरहेको देखिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट