स्टारलिंकले नेपालमा इन्टरनेट सेवा दिन इच्छुक, प्रधानमन्त्री ओली र मस्कबीच यस्तो भयो कुराकानी
नेपालमा सेटेलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्ने योजनासहित एलन मस्कको कम्पनी स्टारलिंक ले चासो देखाएको छ। यसअघि स्टारलिंककी निर्देशक रेबेका हन्टरले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङसँग भेट गर्दै नेपालमा काम गर्न इच्छुक रहेको जानकारी दिएकी थिइन्।
आज साँझ प्रधानमन्त्री केपी शर्मा ओली र एलन मस्कबीच भर्चुअल संवाद भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। वार्ताको क्रममा नेपालमा इन्टरनेट सेवा विस्तार गर्ने सम्भावनाबारे छलफल भएको बताइएको छ।
स्टारलिंकले विश्वका विभिन्न देशमा सेटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ। नेपालजस्तो भौगोलिक रूपमा विकट र पहुँचमा कठिनाइ भएका स्थानहरूमा यो सेवा प्रभावकारी हुनसक्ने विश्वास गरिएको छ।
यसैबीच, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी (डीओजीई) को प्रमुख पदमा नियुक्त गरेका छन्, जसले मस्कको प्रभावलाई थप विस्तार गरेको छ।
प्रधानमन्त्री र मस्कबीचको यो संवादले नेपालमा सूचना प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी र सहकार्यका लागि नयाँ ढोका खोल्न सक्छ।



तपाईको प्रतिक्रिया दिनुहोस