हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक
तस्वीर सार्वजनिक भएपछि रास्वपाका नेताहरूले प्रहरीमाथि जानाजान तस्वीर बाहिर पठाएको आरोप लगाएका छन्।

कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको एक तस्वीर बुधबार राति सार्वजनिक भएको छ। तस्वीरमा उनी सिरह ओढेर हिरासत कक्षमा सुतेको अवस्थामा देखिन्छ।
तस्वीर सार्वजनिक भएपछि रास्वपाका नेताहरूले प्रहरीमाथि जानाजान तस्वीर बाहिर पठाएको आरोप लगाएका छन्। रास्वपाका नेता दीपक बोहराले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर सार्वजनिकप्रति आक्रोश व्यक्त गर्दै यसमा आपत्ति जनाएका छन्।
उनले यो तस्वीर सार्वजनिक हुनुको पछाडि कुनै उद्देश्य भएको आशंका गर्दै लेखेका छन्, "अन्याय गर्नुको पनि हद हुन्छ। हिरासत कक्षको यो तस्वीर कास्की प्रहरीले कसलाई पठाएको होला? के उद्देश्यले सार्वजनिक गरियो? यसको मूल्य चुकाउन कसैले न कसैले पर्छ।"
रवि लामिछाने सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा कास्की प्रहरीले गत कात्तिक २ गते पक्राउ गरेका थिए। उनलाई जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले शुक्रबार अदालतमा अभियोगपत्र दर्ता गर्न तयारी गरिरहेको छ।
मंगलबार अदालतबाट थप चार दिन हिरासतमा राख्न अनुमति पाएपछि प्रहरीले पेश गरेको राय प्रतिवेदनको अध्ययन भइरहेको छ। सरकारी वकिल कार्यालयले शुक्रबारभित्रै अभियोजन प्रक्रिया अघि बढाउने बताएको छ।
तस्वीर सार्वजनिक हुनु र यसप्रकारको घटना बाहिरिनुले हिरासतमा रहेका व्यक्तिको गोपनीयता उल्लङ्घन भएको भन्दै रास्वपाका नेताहरूले आलोचना गरेका छन्। उनीहरूले दोषीलाई कारबाही गरी न्याय दिलाउन माग गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस