बलेफी हाइड्रोपावर लिमिटेडका हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
बलेफी हाइड्रोपावर लिमिटेड (BHL) ले मंसिर २७ गतेदेखि निष्काशन र बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज, पुस १७ गते, अन्तिम दिन रहेको छ।
कम्पनीले आफ्नो चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो, जसअनुसार १ कित्ता शेयर बराबर १ कित्ता नयाँ शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरिएको छ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्काशन गरेको छ, जसको कुल मूल्य १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ हुन्छ।
हकप्रद शेयर निष्काशनका लागि कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
हकप्रद निष्काशनका लागि गराइएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी (IRN BB) इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम भएको संकेत गर्दछ।
कम्पनीको हकप्रद शेयर निष्काशन र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईएमबि एस क्यापिटल लिमिटेडको कार्यालय, कुमारी बैंकका जलविरे र जुगल शाखा कार्यालय, साथै नेपाल धितोपत्र बोर्डबाट अनुमोदित आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुको शाखाबाट पनि आवेदन दिन सक्नेछन्। 'मेरो शेयर' अनलाइन प्रणाली मार्फत पनि आवेदन दिन सकिन्छ।
कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ।
आयोजना निर्माणका क्रममा लिइएको १ अर्ब ४० करोड रुपैयाँको बैंक ऋणको आंशिक भुक्तानी, प्रबद्र्धकबाट लिइएको ३० करोड ६४ लाख ४६ हजार ८६० रुपैयाँ ३९ पैसाको पूर्ण भुक्तानी, र ठेकेदार तथा बिक्रेताहरुलाई १२ करोड १५ लाख २३ हजार १३९ रुपैयाँ ६१ पैसाको भुक्तानी गर्न कम्पनीले हकप्रद शेयर निष्काशन गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस