भीम रावल, उषाकिरण र विन्दाको कारबाहीले ओलीसँग नेताहरूको नोकझोक हुने संकेत
काठमाडौं । सत्तारूढ नेकपा (एमाले) सचिवालय बैठक बस्दैछ । आज (बिहीबार) दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने एमालेले जनाएको छ ।
एमाले केन्द्रीय समितिको बैठक यहीँ पुस २१ र २२ बस्दैछ । बैठकमा केन्द्रीय कमिटीका एजेण्डा, समसामयिक राजनीतिक विषय, केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक गतिविधिलगायतका विषयमा छलफल हुने पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
एक साता पहिले बसेको एमाले सचिवालय बैठकले नेता भीम रावललाई निष्कासन, विन्दा पाण्डे र उषाकिरण तिमल्सिनाको जिम्मेवारी ६ महिनालाई खोस्ने निर्णय गरेको थियो ।
यसबारे अध्यक्ष केपी शर्मा ओलीको एमालेभित्र र बाहिर व्यापक आलोचना भएको छ । आजको सचिवालय बैठकमा ओलीसँग एमालेका केही नेताले उनीहरूको कारबाहीबारे पनि छलफल गर्ने देखिएको छ ।
एमाले नेता योगेश भट्टराईले एक टेलिभिजन कार्यक्रममा भीम रावलले एमालेमा फर्किन चाहे पुनर्विचार गर्न सकिने बताएका छन् । रावलको कारबाहीप्रति भट्टराईलगायतका सात जना नेताले यसअघि नै असन्तुष्टि जनाएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस