दुई सिजन फाइनलमा चुकेको रोयल्सको मुख्य प्रशिक्षकमा दिग्गज मिसबाह नियुक्त
नेपाल प्रिमियर लिग (एनपिएल)को आगामी तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तान टोलीका पूर्वकप्तान तथा सफल प्रशिक्षक मिसबाह उल हकलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। अघिल्ला दुई सिजनमा टोलीलाई फाइनलसम्म पुर्याएका नेपाली प्रशिक्षक जगत टमाटाको स्थान अब मिसबाहले सम्हाल्नेछन्।
पाकिस्तानका लागि ७५ टेस्ट, १६२ एकदिवसीय र ३९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका मिसबाहले तीनवटै प्रारूपमा गरी ११ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन्।
उत्कृष्ट ब्याटरका रूपमा मात्र नभई कप्तानका रूपमा पनि उनको खेल जीवन निकै सफल मानिन्छ। उनकै कप्तानीमा पाकिस्तानले ५६ टेस्टमध्ये २६ खेल जित्नुका साथै सन् २०१६ मा इतिहासमै पहिलोपटक आईसीसी टेस्ट वरीयताको शीर्ष स्थान हासिल गरेको थियो।
सन् २०१७ मा सक्रिय खेल जीवनबाट सन्यास लिएपछि प्रशिक्षण क्षेत्रमा प्रवेश गरेका मिसबाहले सन् २०१९ देखि २०२१ सम्म पाकिस्तान राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक तथा प्रमुख छनोटकर्ताको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।
अघिल्ला दुवै सिजनको लिग चरणमा शीर्ष स्थान हासिल गरेर पनि फाइनलमा उपाधि चुम्न चुकेको सुदूरपश्चिम रोयल्सले यसपटक मिसबाहको रणनीतिक एवं अनुभवी नेतृत्वमा पहिलोपटक ट्रफी उचाल्ने लक्ष्य राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस