मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको र सुधारका प्रयासले नतिजा दिन थालेको बताएका छन् ।
अर्थ मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधार हुँदै गएको सूचकहरुले नै देखाएको बताए ।
‘हामीले आर्थिक सूचकहरुमा तलमाथि गरेका छैनौँ । सूचक हरियो छ भने हरियो र रातो छ भने रातो नै प्रस्तुत भएको छ । तथ्यले हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको देखाउँछ,’ उनले भने ।
वर्तमान सरकार गठन भएपछि आर्थिक सूचकहरु सुध्रदै गएको अर्थमन्त्री पौडेलले बताए । ‘आर्थिक परिसूचक अहिलेको भन्दा पहिला नकारात्मक थिए । ती परिसूचकलाई सकारात्मक बनाउन समय लागेको छ र निकै बढी मेहनत गर्नुपरेको छ । ओरालो लागेको अर्थतन्त्रलाई अहिले सकारात्मक दिसामा डोर्याएका छौँ,’ उनले भने ।
सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरे लगत्तै निजी क्षेत्रका छाता सङ्गठनले त्यसको स्वागत गरेको र यसले निजी क्षेत्रलाई अघि बढाउन भूमिका खेलेको उनको भनाइ थियो । ‘पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न सरकारले काम गरिरहेको छ,’ अर्थमन्त्री पौडेलले भने । निर्माण व्यवसायीको भुक्तानी नरोकिएको उनले उल्लेख गरे।



तपाईको प्रतिक्रिया दिनुहोस