सरकारी कार्यालयमा टीएमएस प्रयोगमा रोक: कार्यालय समयमा सेयर कारोबार बन्द गराउन निर्देशन
देशभरिका सबै सरकारी कार्यालयमा अब सेयर कारोबार गर्न प्रयोग हुने प्रणाली ‘टीएमएस’ (Trading Management System) नचलाउने व्यवस्था लागू गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, तथा अन्य सरकारी कार्यालयमा पत्र पठाएर टीएमएस नचलाउने निर्देशन दिएको छ।
त्यस्तै, स्थानीय तहमा पनि टीएमएस नचलाउने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ। यसका लागि सबै प्रदेशहरूमा परिपत्र जारी गर्न प्रादेशिक समन्वय महाशाखालाई आदेश गरिएको छ।
यसअघि सिंहदरबारभित्रका कर्मचारीहरूले कार्यालय समयमा टीएमएस चलाएर सेयर कारोबार गरिरहेको पाइएको थियो, जसका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्य रोक्न आग्रह गरेको थियो। अख्तियारले कार्यालय समयमा सरकारी स्रोत साधनको प्रयोग गरी व्यक्तिगत कारोबार गर्न नमिल्ने व्यवस्था गर्न सुझाव दिएको थियो।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यका अनुसार, यो निर्णय क्रमिक रूपमा सबै सरकारी कार्यालयमा लागू हुनेछ र यसको अनुगमन पनि गरिनेछ।




तपाईको प्रतिक्रिया दिनुहोस