टिकटकले नेपालीका लागि जागिर खोल्यो
टिकटकले नेपालमा ९ महिना लामो प्रतिबन्ध फुकुवा भएलगत्तै स्थानीय प्रतिनिधि र कर्मचारी राख्ने प्रक्रिया अघि बढाएको छ। हालै टिकटकले पब्लिक पोलिसी म्यानेजरको पदका लागि आवेदन खुलाएको छ, जसले नेपालको सरकारसँग समन्वय गरी नीति र कानूनी चुनौतीहरू समाधान गर्नेछ।
नेपाल सरकारले २७ कात्तिक २०८० मा सामाजिक सद्भाव खलबल्याएको आरोपमा टिकटकमा प्रतिबन्ध लगाएको थियो। साढे नौ महिनापछि, भदौ ६ मा मन्त्रिपरिषदले शर्तसहित प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्यो। टिकटकले २१ भदौमा सरकारका सबै शर्तहरू मान्न सहमति जनाउँदै पत्र पठाएपछि प्रतिबन्ध पूर्ण रूपमा हटाइएको थियो।
सरकारले टिकटकलाई नेपालमा दर्ता गराउनु, सम्पर्क केन्द्र तोक्नु, र डिजिटल सुरक्षा, साक्षरता, तथा पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने शर्त राखेको थियो। यी शर्तहरू मान्न सहमत भएपछि, टिकटकले नेपालमा कर्मचारी नियुक्ति प्रक्रिया सुरु गरेको हो।
हाल माग गरिएको पब्लिक पोलिसी म्यानेजरले सरकारसँगको सम्बन्ध व्यवस्थापन, संकट समाधान, र नेपालको राजनीतिक तथा कानूनी चुनौतीहरू सामना गर्नुपर्नेछ। टिकटकले यो पदका लागि सार्वजनिक नीति, सरकारी सम्बन्ध, वा वकालतमा अनुभव भएका व्यक्तिहरूलाई अवसर प्रदान गर्नेछ।
यो भूमिका निभाउन इच्छुक व्यक्तिले राजनीति शास्त्र वा आन्तरिक मामिला जस्ता क्षेत्रमा एड्भान्स डिग्री र अन्तर्राष्ट्रिय संस्थामा काम गरेको अनुभव आवश्यक छ।



तपाईको प्रतिक्रिया दिनुहोस