Techie IT
२०८३ श्रावण १२, मंगलबार

नेप्सेमा गिरावटले अर्थमन्त्री पौडेल चिन्तित

मन्त्री पौडेलले पुनर्संरचनाको विषयमा कुनै ठोस धारणा सार्वजनिक नगरेर बजारमा भइरहेको गिरावट प्रति आफ्नो चासो व्यक्त गरे।


नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुगमनका क्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल हालको सेयर बजारको अवस्थाप्रति चिन्तित देखिए। बुधबार नेप्सेमा पुगेर मन्त्री पौडेलले एक महिनाअघि साउन ३१ मा २९ अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार भएको तथ्यलाई स्मरण गर्दै अहिले कारोबार रकम पाँचदेखि छ अर्बमा झरेको देख्दा आफैँमा प्रश्न उठेको बताए।

उनले भने, “हाम्रो बजारमा एक महिना अगाडि करिब ३० अर्बको कारोबार भएको थियो, तर अहिले किन घट्यो? यसको जवाफ नपाएसम्म नेप्सेका पदाधिकारीहरूलाई सोधिरहन्छु।”

नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले नेप्सेलाई पुनर्संरचना गर्दै सरकारको स्वामित्व घटाएर सर्वसाधारण र विदेशी साझेदारहरूलाई भित्र्याउनुपर्ने आवश्यकतामा जोड दिए। अध्यक्ष शोभाकान्त पौडेलले पनि यसलाई समर्थन गर्दै पुनर्संरचनाको आवश्यकता औंल्याए।

नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष महेश बरालले पनि अन्तर्राष्ट्रिय अभ्यासमा सरकारले दोस्रो बजार सञ्चालन नगरेको उदाहरण दिँदै, नेप्सेको पुनर्संरचना अनिवार्य भएको बताए।

तर, मन्त्री पौडेलले पुनर्संरचनाको विषयमा कुनै ठोस धारणा सार्वजनिक नगरेर बजारमा भइरहेको गिरावट प्रति आफ्नो चासो व्यक्त गरे। उनले राजनीतिक स्थिरता रहेको अवस्थामा पनि लगानीकर्ताहरूको मनोबल किन घटेको भन्ने प्रश्न उठाए। साथै, उनले बजारमा भइरहेको गिरावटको कारण के सिस्टमले राम्रो काम नगरेको हो भन्ने आशंका पनि व्यक्त गरे।

पौडेलले गैरकानुनी क्रियाकलापमा नेप्सेको ध्यानाकर्षण गराउँदै बजारको दीर्घकालीन स्थायित्व र विश्वसनीयताका लागि सरकार प्रतिबद्ध रहेको बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट