प्रतिनिधिसभा बैठक
संघीय संसद् छलेर प्रदेश पुग्दै प्रधानमन्त्री ओली, बहिष्कारको तयारीमा विपक्षी
प्रचण्डको विशेष सम्बोधन, देउवा उपस्थित हुने
.jpg)
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ ।
आज (मंगलबार) बस्नै बैठकमा पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन् ।
हिजो (सोमबार) सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
उक्त छलफलमा आज बस्ने संसद् बैठकमा विशेष सम्बोधनका लागि प्रचण्डले समय माग गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनका अनुसार आजको संसद् बैठकमा प्रचण्डले विशेष सम्बोधन गर्नेछन् ।
बैठकमा प्रचण्डको विशेष सम्बोधन भएपनि प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने छैनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भने संसद् बैठकमा उपस्थित हुनेछन् ।
प्रधानमन्त्रीको कोशी प्रदेश सभालाई सम्बोधन गर्ने तयारी छ । त्यसका लागि उनी त्यतै प्रस्थान गर्नेछन् भने विपक्षी दलहरूले बैठक नै बहिष्कार गर्ने तयारी गरेका छन् ।
संघीय संसद् बैठकमा भने कानून, न्याय तथा संसदीय मामीलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठन सम्बन्धी सूचना टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव र ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस