Techie IT
२०८२ असार १, आइतबार

काठमाडौं उपत्यकाका यी क्याम्पसहरूमा किन भएन स्ववियु निर्वाचन ?


काठमाडौं । काठमाडौं उपत्यकाका केही क्याम्पसमा स्ववियु निर्वाचन स्थगि भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ८ आंगिक क्याम्पसमा निर्वाचन रोकिएको हो । 

विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरूले क्याम्पसमा तालाबन्दी गरेपछि आज (मंगलबार) हुने भनिएको स्ववियु निर्वाचन रोकिएको छ । त्रिविका ६२ वटा आंगिक र अन्य सम्बन्धनप्राप्त कलेजहरूमा स्ववियु निर्वाचनको मिति तय गरेको थियो । 

तर, तालाबन्दीका कारण यी कलेजहरूमा निर्वाचन रोकिएको हो । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) र अमृत साइन्स क्याम्पसमा अन्तिम समयमा आएर स्ववियु निर्वाचन स्थगित भएको हो । 

सरस्वती क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, शंकरदेव क्याम्पस, त्रिचन्द्र क्याम्पस र पब्लिक युथ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया यसअघि नै रोकिएको थियो । आरआर र अमृत साइन्समा भने हिजो मध्यरातदेखि तालाबन्दी भएपछि स्थगित भएको हो । 

आरआरमा एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियूले तालाबन्दी गरेपछि अन्तिम समयमा आएर निर्वाचन स्थगित भएको छ । अमृत साइन्स क्याम्पसमा अखिल (क्रान्तिकारी)ले होस्टेलको विषयलाई लिएर विवाद सिर्जना गर्दै तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको हो । 

सरस्वती क्याम्पसमा अनेरास्ववियू लगायतको तालाबन्दीका कारण निर्वाचन प्रक्रिया नै अगाडि बढ्न सकेको छैन । त्यस्तै विश्वभाषामा समेत अखिल क्रान्तिकारीको तालाबन्दीका कारण निर्वाचन स्थगित भएको छ । 

नेपाल ल क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी छ । जसले गर्दा निर्वाचन स्थगित भएको छ । शंकरदेवमा अखिल (क्रान्तिकारी) लगायतको तालाबन्दीका कारण चुनाव हुन सकेन । 

त्रिचन्द्र र पब्लिक युथ क्याम्पसमा नेविसंघको तालाबन्दीका कारण निर्वाचन हुन सकेन । त्रिवि केन्द्रीय क्याम्पसमा ८ गतेका लागि निर्वाचन सरेको छ । पद्मकन्या क्याम्पस बागबजारमा समेत ७ गतेका लागि निर्वाचनको मिति तोकिएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट