लगानीकर्ताको लागि उज्यालो भविष्य: सेयर बजारमा बुलिस डाइभर्जेन्स र सुधारको आशा
यो साता सेयर बजारमा इन्द्रजात्रा र संविधान दिवसको कारण तीन दिन मात्रै कारोबार भयो, जसमा तीन दिन नै बजार घटेको थियो। अघिल्लो साता २६८८ को विन्दुमा बन्द भएको बजार यो साता २५७६ मा आइपुग्यो, जसले १११.७९ अंकको गिरावट देखाएको छ। अघिल्लो साता पनि बजारमा ३८.८३ अंकको गिरावट भएको थियो।
तीन दिनको कारोबार अवधिमा कुल २३.३७ अर्ब रुपैयाँ बराबरको कारोबार भयो, जुन अघिल्लो साता ४१ खर्ब ८२ अर्ब रहेको थियो। यस हिसाबले बजार घट्दा कारोबारको मात्रा पनि घटेको देखिन्छ। बजार पूँजीकरण अघिल्लो साता ४२ खर्ब ७४ अर्बबाट घटेर यो साता ४० खर्ब ९७ अर्बमा आइपुग्यो, जसले १ खर्ब ७७ अर्बको गिरावट संकेत गर्छ।
इल्लिअट वेभ सिद्धान्तअनुसार, बजार हाल माइनर डिग्रीको चौथो वेभको करेक्सनमा छ, र यो करेक्सनले बजारलाई २५५० को विन्दुसम्म ल्याएको छ। बजारले पाँचौं वेभमा बढोत्तरी गर्न सक्ने र ३६०० सम्म पुग्ने सम्भावना देखिन्छ, जुन विस्तारसहित अल टाइम हाइ हुन सक्छ। तर त्यसपछि बजारले एबीसी करेक्सन मोडमा प्रवेश गर्न सक्छ।
आधारभूत रुपमा अहिले बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर, र राजनीतिक स्थायित्व रहेकोले लगानीको वातावरण अनुकूल देखिन्छ। तर, सिस्टेमेटिक जोखिम भने सधैं रहन्छ। हालको बजार पिभट विश्लेषणले २५५० को आसपासमा समर्थन लिएको देखाउँछ, जसले बजारको बटम नजिकै रहेको संकेत दिन्छ। बजारमा मनी फ्लो इन्डेक्सले बुलिस डाइभर्जेन्स देखाएको छ, जसले आगामी हप्तामा बजारमा सुधारको सम्भावना संकेत गर्छ।



तपाईको प्रतिक्रिया दिनुहोस