गठबन्धनविना माओवादीले चुनाव जित्ने आधार बलियो बन्दै गएको छ : अध्यक्ष प्रचण्ड

बारा । नेकपा (माओवादी केन्द्र)ले अन्य दलसँगको गठबन्धनविना चुनाव जित्ने आधार बलियो बनेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गरेका छन् ।
जनतासँग माओवादी– ‘तराई मधेस जागरण अभियान’अन्तर्गत बारामा आयोजित मधेस जागरण सभालाई सम्बोधन गर्ने क्रममा उनले आगमी निर्वाचनमा माओवादी केन्द्रले एक्लै चुनाव जित्ने दाबी गरेका हुन् ।
विगतका निर्वाचनमा कांग्रेस–एमालेसँग चुनावी तालमेल गर्दा माओवादीले घाटा व्यहोरेको स्मरण गर्दै अगामी निर्वाचनमा एक्लै चुनाव लड्ने बताए ।
गत मंसिरको निर्वाचन परिणामलाई हेर्दा आगामी निर्वाचनमा माओवादीले कसैको बैसाखी टेक्न नपर्ने बताए । यसका साथै उनले विरोधीहरूले कांग्रेस–एमालेविना चुनाव लड्न नसक्ने हल्ला फैलाएको आरोप लगाए ।
‘गत उपनिर्वाचनमा कांग्रेस एमाले मिलेर मात्र होइन, उनीहरूले आपसमा चुनाव चिन्ह साटफेर गरेर माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जितेका थियौँ,’ उनले भने, ‘अहिले स्ववियु निर्वाचनमा आउँदा पनि कांग्रेस र एमालेसमर्थित विद्यार्थी संगठनहरू मिलेर चुनाव लड्दा पनि माओवादी समर्थित अखिल क्रान्तिकारीले एक्लै देशव्यापी उत्साहप्रद नतिजा निकालेको छ । कयौं ठूला क्याम्पसमा तीसौँ वर्षदेखिका रेकर्ड तोडिएका छन् । युवा विद्यार्थीहरू अब प्रतिगमन र यथास्थितिको पक्षमा नभई अग्रगमन र परिवर्तनको पक्षमा छन् भन्ने स्ववियु निर्वाचनले स्पष्ट सन्देश दिएको छ ।’
अध्यक्ष प्रचण्डले सरकारका गलत क्रियाकलापको फाइदा उठाएर प्रतिगामी शक्तिहरुले टाउको उठाउने दुस्साहस गरेको टिप्पणी गर्दै जनताको अधिकारको रक्षाका लागि प्रतिगामी र यथास्थितिवादी शक्तिका विरुद्ध लड्नुपर्ने दायित्व फेरि जनताकै काँधमा आएको बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस