Techie IT
२०८३ श्रावण ११, सोमबार

'नेपाली कांग्रेस र एमालेको सहकार्यबाट मुलुकमा सकारात्मक सन्देश दियो : देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार गठनसँगै मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलमा महामानव बीपी कोइरालाको प्रतिमा अनावरण समारोहलाई शनिबार सम्बोधन गर्दै देउवाले नेपाली कांग्रेस र एमालेबीचको सत्ता सहकार्यले देशभर सकारात्मक प्रभाव पारेको उल्लेख गरे।

देउवाले दुई ठूला प्रतिस्पर्धी पार्टीहरूबीचको सहकार्यबाट चिन्ता पनि व्यक्त गरिएको तर यसले देशभर सकारात्मक प्रतिक्रिया पाएको बताए। उनले कांग्रेसका नेताकार्यकर्तालाई आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पुर्‍याउनको लागि कडा मेहनत गर्न र जनताको हितका कामलाई अघि बढाउन आग्रह गरे। "सत्ता सहकार्यले मात्रै हुँदैन, अब सबै मिलेर जनताको पक्षमा काम गर्नुपर्छ," देउवाले भने।

कांग्रेसको छवि परिवर्तन र जनताको समर्थन
देउवाले कांग्रेसप्रति रहेको 'काम नगर्ने, गफ बढी गर्ने' भन्ने आलोचनालाई चिर्न अब पार्टीले जनताको मन जित्नकै लागि विकासका काममा जुट्नुपर्ने बताए। "अब हामीले जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्छ, उनीहरूको दुःख बुझेर काम गर्नुपर्छ," देउवाले भने। उनले पार्टीका सबै तहमा जनताको समस्यालाई बुझ्न र त्यसको समाधानका लागि स्थानीय, प्रदेश, र संघीय स्तरमा मिलेर काम गर्न जोड दिए।

कांग्रेसलाई नम्बर एक पार्टी बनाउने लक्ष्य
सभापति देउवाले नेपाली कांग्रेसलाई पहिलो स्थानमा पुर्‍याउने आफ्नो दृढ इच्छा व्यक्त गरे। उनले भने, "नम्बर वान पार्टी बन्नका लागि जनताको काममा लाग्नैपर्छ। सबै साथीहरूलाई म फेरि आग्रह गर्छु, मेहनत गरौँ।" हालको समावेशी र समानुपातिक संविधानले कुनै एक पार्टीलाई बहुमत ल्याउन गाह्रो पारेको भए पनि प्रयास गरे सम्भव हुने उनको धारणा थियो।

विकास र बीपी कोइरालाको सपना
सभापति देउवाले बीपी कोइरालाको इच्छाअनुसार गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको बीपी राजमार्गले पूर्व जाने छोटो मार्ग र कनेक्टिभिटी बढाएको बताए। यो राजमार्ग जापानको सहयोगमा बनेको र यसले मुलुकको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उनले स्मरण गरे। "यो हाम्रो गौरवको विषय हो," उनले भने।

बीपी कोइरालाको आदर्शलाई पछ्याउन जोड
कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री तथा बीपी कोइरालाका छोरा डा. शसाङ्क कोइरालाले बीपी कोइरालाको आदर्श र पदचापलाई बुझेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले कांग्रेसी जनलाई बीपीको आदर्शमा अडिग रहँदै प्रजातन्त्र प्राप्तिपछि भएका उपलब्धिहरूको संरक्षण गर्न आग्रह गरे। शैक्षिक, स्वास्थ्य, र भौतिक पूर्वाधारमा भएका उपलब्धिलाई थप प्रवर्द्धन गर्दै मुलुकको विकासमा योगदान दिनुपर्ने पनि उनले बताए।

समारोहमा सहभागी अन्य नेताहरूले पनि बीपी कोइरालाको योगदानलाई सम्झिँदै मुलुकको विकास र प्रगतिका लागि कांग्रेसको भूमिका अझ बलियो बनाउन आवश्यक रहेको बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट