Techie IT
२०८२ श्रावण १०, शनिबार

सामाजिक सञ्जालले आत्महत्या बढायो: सांसद सुनिता बराल


प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेकी सांसद सुनिता बरालले नेपालमा आत्महत्याको दर भयावह रूपमा बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण विशेषगरी युवावर्गमा मानसिक समस्याहरू बढ्दै गएको र त्यसले आत्महत्यासम्मको अवस्था सिर्जना गरेको उल्लेख गरेकी हुन् । उनले मानसिक स्वास्थ्य सुधारका लागि ‘डिजिटल डिटक्स’ र साइबर सुरक्षासम्बन्धी कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएकी छन् ।

सांसद बरालका अनुसार, ‘डिजिटल डिटक्स’ भन्नाले एक निश्चित अवधिका लागि स्मार्टफोन, सामाजिक सञ्जाल, कम्प्युटरजस्ता डिजिटल उपकरणहरूबाट टाढा रही मानसिक र शारीरिक विश्राम लिनु हो।

नेपाल प्रहरीको तथ्याङ्क उद्धृत गर्दै उनले गत आर्थिक वर्षमा मात्र ६ हजार १०२ जनाले आत्महत्या गरेको जानकारी दिइन्। “जर्नल अफ एडोलसेन्ट हेल्थको एक अध्ययनअनुसार दैनिक ६ घण्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने व्यक्तिहरूमा चिन्ता, डिप्रेसन र आत्मसम्मानमा ह्रास देखिन्छ,” बरालले भनिन्, “निन्द्रा नलाग्ने, एक्लोपन महसुस हुने जस्ता असरले गर्दा धेरैजसोले अन्ततः आत्महत्या गर्ने स्थिति आउने गरेको अनुसन्धानले देखाएको छ।”

बरालले युवायुवती तथा फ्रन्टलाइनमा काम गर्नेहरूलाई लक्षित गरी सहज मानसिक स्वास्थ्य परामर्श, डिजिटल साक्षरता, साइबर सुरक्षा शिक्षा र 'डिजिटल डिटक्स' कार्यक्रम तत्काल सञ्चालन गर्न सरकारसँग माग गरिन्।

उनले सामाजिक सञ्जालको प्रयोगलाई सुरक्षित, उत्तरदायी र मानसिक स्वास्थ्यमैत्री बनाउनेतर्फ सरकारले नीतिगत पहल गर्नुपर्नेमा जोड दिइन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट