अध्यक्ष रञ्जिता आउट! नयाँ नेतृत्व आजै चुनिँदै
नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेला बिहीबार पनि बस्दैछ। नयाँ बानेश्वरमा जारी भेलाले नयाँ अध्यक्ष चयन गर्ने कार्यसूची रहेको संयोजक रामलाल डगौरा थारूले जानकारी दिएका छन्।
बुधबार बसेको भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त गर्ने प्रस्ताव पारित गरेको थियो। उनलाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको नाउपाले जनाएको छ। पोखराको लिचीबारी जग्गा प्रकरणमा मुछिएकी श्रेष्ठलाई अनुशासन समितिले २४ घन्टे स्पष्टीकरण मागेको थियो। तर उनले कुनै प्रतिक्रिया नदिएपछि वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकिएको थियो। बास्तोला स्वयं पनि भेलामा अनुपस्थित छन्।
श्रेष्ठलाई अध्यक्षबाट हटाइएकाले पार्टीले नयाँ नेतृत्व चयन गर्नुपर्ने अवस्था आएको छ। अध्यक्ष पदका आकांक्षीमा लालवीर चौधरी, रामलाल डगौरा र गंगा चौधरीको नाम चर्चामा छ। गंगा चौधरी पार्टीको संसदीय दल नेताका रूपमा जिम्मेवारीमा छन्। डगौरा टीकापुर नगरपालिकाका मेयर हुन् भने लालवीर संरक्षक रेशम चौधरीका पिता तथा प्रतिनिधिसभा सदस्य हुन्। उनले बर्दियाबाट स्वतन्त्र उम्मेदवारी दिई नाउपाको समर्थनमा चुनाव जितेका थिए।
पार्टीले नयाँ केन्द्रीय कार्यसमिति गठनको तयारी गरे पनि त्यसलाई निर्वाचन आयोगमा अद्यावधिक गराउन भने सहज नहुने देखिएको छ। रञ्जिता श्रेष्ठ पक्षका एक केन्द्रीय सदस्यका अनुसार पार्टी विधानले अध्यक्षलाई सर्वेसर्वा बनाएको छ र अध्यक्ष हटाउने प्रक्रिया महाधिवेशनबाट मात्र सम्भव हुने व्यवस्था छ।
श्रेष्ठले निर्वाचन आयोग र कानुन व्यवसायीसँगको परामर्शपछि नै कार्यवाहक अध्यक्ष तोकिएको उनीहरूको दाबी छ।
यसअघि नाउपाले २०८० पुसको अन्तिम साता राष्ट्रिय महाधिवेशन गर्दै संरक्षक रेशम चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो। तर निर्वाचन आयोगले उक्त समितिलाई अद्यावधिक नगरेपछि पार्टी पुरानै संरचना अनुसार सञ्चालनमा फर्किएको थियो। सो निर्णयविरुद्ध रेशम चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरिसकेका छन्



तपाईको प्रतिक्रिया दिनुहोस