"एमाले विभाजन गर्नेहरू अहिले पश्चातापमा छन्" – महासचिव शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी विभाजन गर्ने नेताहरू अहिले पश्चातापमा रहेको बताएका छन्। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले विभाजन गर्नेहरू निराशा र हतासामा रहेको टिप्पणी गरे।
"जुन नेताहरूले हिजो एमाले फुटाएर नयाँ पार्टी बनाउने सपना देख्नुभएको थियो, आज उनीहरू निराश र असहज अवस्थामा देखिन्छन्। केहीले त खुलेरै पार्टी विभाजन गल्ती थियो भनेका छन्, कतिपयले त अब पार्टी चलाउन नसकिने स्थिति आएको बताएका छन्," पोखरेलले भने।
उनका अनुसार विभाजनकै कारण जनताबीच लोकप्रियता कायम राखे पनि एमाले परिणामका आधारमा दोस्रो ठूलो पार्टीमा सीमित भएको छ।
"विभाजनको अभियान असफल भइसकेको छ। त्यसैले पार्टी छाडेर गएका नेता तथा कार्यकर्ताहरू अब आफ्नै घर फर्किनुपर्छ," पोखरेलले भने। उनले नेताहरू हतास भई इधर–उधर गरिरहँदा कार्यकर्ताहरूले भने सिद्धान्त र मार्ग स्पष्ट राख्नुपर्ने बताएका थिए।
सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पेशागत महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष डा. लछी सिंह, मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा र उपसचिव उमेश बस्नेत एमालेमा प्रवेश गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस