Techie IT
२०८३ जेष्ठ १०, आइतबार

के सत्य बोल्नु अपराध हो? - युवा संघ नेता सुरज खरेल


नेकपा एमालेभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको गुटगत प्रतिस्पर्धा पार्टीका जनसंगठनहरूमा समेत देखिन थालेको छ।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुजस्ता प्रभावशाली संगठनहरूमा संस्थापन पक्ष ओलीसँग जोडिँदा, अर्काे पक्ष भण्डारीको पक्षमा खुल्ने प्रवृत्ति देखिएको छ। युवा संघको दशौं राष्ट्रिय महाधिवेशनको क्रममा सुमन पुरी समूहमा रहेकाहरूलाई कारबाही गरिनु यसकै पछिल्लो उदाहरण हो। कारबाहीमा परेकामध्ये लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल पनि छन्।

खरेलले आज पत्रकार सम्मेलन गर्दै आफूमाथि गरिएको कारबाहीलाई फरक मतको निषेध भनेका छन्। "हाम्रो संगठनभित्र प्रश्न गर्ने, फरक विचार राख्ने, नेतृत्वको आलोचना गर्ने परम्पराको हत्या गरिएको छ । यहाँ केवल आदेश चल्छ, प्रश्न चल्दैन," खरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । "यहाँ भक्ति चल्छ, विचार चल्दैन।"

उनले अध्यक्ष ओलीलाई नियन्त्रित गरेर जनताबाट टाढा पार्ने प्रयास भइरहेको आरोप लगाएका छन् । "केपी ओलीजस्तो अग्लो कदका नेतालाई घेराबन्दीमा पारिएको छ। उहाँको आँखामा पट्टी बाँधेर जनताबाट टाढा बनाइँदैछ। मैले यही दुर्गन्धविरुद्ध आवाज उठाउँदा मलाई नेतृत्वको अपमान गरेको भन्दै कारबाही गरियो। के सत्य बोल्नु अपराध हो?" उनले विज्ञप्तिमा लेखेका छन्।

खरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने निर्णयको प्रशंसा समेत गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट