विधान महाधिवेशनअघि एमालेका भ्रातृ संगठनमा गुटबन्दी तीव्र

नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन नजिकिँदै गर्दा पार्टीका भ्रातृ संगठनहरू दुई धारमा विभाजित भएका छन्। २० देखि २२ भदौसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारी भइरहेको बेला विद्यार्थी तथा युवा संगठनभित्र गम्भीर विवाद देखिन थालेको हो।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा विवाद गण्डकी प्रदेशमै सीमित नभई कर्णालीसम्म फैलिएको छ। गण्डकी प्रदेशमा उत्पन्न विवाद समाधान नभइसकेको अवस्थामा ३० साउनमा कर्णालीमा समानान्तर कमिटी गठन भएको हो।
केन्द्रले पठाएको सर्कुलर अस्वीकार गर्दै कर्णालीमा सञ्जय योगीको संयोजकत्वमा नयाँ कमिटी बनाइएको छ। योगीले भने, “केन्द्रले सचिवलाई संयोजक तोकेपछि हामी बाध्य भएर विधानअनुसार नयाँ कमिटी गठन गरेका हौं।”
कर्णाली कमिटीले जारी गरेको विज्ञप्तिमा केन्द्रले गरेको निर्णयलाई “अन्यायपूर्ण” भन्दै त्यसलाई नमान्ने घोषणा गरिएको छ। योगीले केन्द्रमाथि गुटबन्दी गरेको आरोप लगाउँदै स्थानीय नेताहरूलाई बेवास्ता गरिएको दाबी गरेका छन्।
२५ साउनमा गण्डकी प्रदेश कमिटीले बैठक बसेर सचिव सुरज सापकोटालाई संयोजक तोकेको थियो। तर केन्द्रले उपाध्यक्ष सुसन घिमिरेलाई संयोजक तोकेपछि विवाद चर्किएको छ।
३१ साउनमा केन्द्रले तोकेको संयोजक घिमिरेको अध्यक्षतामा बैठक बसेको र त्यसमा बहुमत सदस्य सहभागी भएको घिमिरेले दाबी गरेका छन्। तर अर्काे पक्षले केन्द्रको निर्णय अस्वीकार गर्दै आफ्नै नेतृत्व कायम राखेको छ।
गण्डकीमा देखिएको विवादलाई सुजन कडरिया र प्रकाश पौडेलबीचको आन्तरिक प्रतिस्पर्धासँग जोडेर हेरिएको छ। कडरिया हाल अनेरास्ववियुका केन्द्रीय अध्यक्ष हुन् भने पौडेल अघिल्लो महाधिवेशनमा अध्यक्षका उम्मेदवार भएर ७ मतले पराजित भएका थिए।
विवाद विद्यार्थी संगठनमै सीमित छैन। युवा संघमा समेत समानान्तर गतिविधि बढेका छन्। काभ्रेपलाञ्चोकमा पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा पक्षले प्रदेश अध्यक्ष र जिल्ला इन्चार्जको निर्देशनलाई बेवास्ता गर्दै आफ्नै अधिवेशन गरेर सीबी लामाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ। ओली पक्षले यसलाई अवैधानिक भन्दै आएको छ।
एमालेको विधान महाधिवेशन सुरु हुनुअघि भ्रातृ संगठनहरूमा संस्थापनविरुद्धको असन्तुष्टि खुलेर देखिन थालेको विश्लेषण गरिएको छ। विभिन्न प्रदेश र जिल्लामा समानान्तर कमिटी गठन हुनु, केन्द्रका निर्णय अस्वीकार हुनु र नेताहरूबीच गुटबन्दी बढ्नु पार्टीभित्र गहिरो असहमतिको संकेत मानिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस