Techie IT
२०८२ भाद्र ३, मंगलबार

उपसभामुख इन्दिरा रानालाई हटाउन खोज्नुको कारण यस्तो छ


सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी थालेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखबाट इन्दिरा रानालाई हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु गरेका छन् ।

कांग्रेस र एमालेले पहिले आफ्नो पार्टीका सांसदहरूलाई हस्ताक्षर गर्न लगाएर अन्य साना दलसँग छलफल सुरु गरेका हुन् ।यस कदमको मूल कारण करिब दुई वर्षअघि उनीसँग जोडिएको विवादलाई मानिएको छ। उपसभामुखमाथि लगाइएको आरोप बुझ्न २०७९ फागुन १४ तिर फर्कनुपर्छ।

२०७९ माघ ७ मा उपसभामुख निर्वाचित भएकी राना एक महिनापछि अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको महिला स्थिति सम्बन्धी आयोग (सीएसडब्लु–६७) सम्मेलनमा सहभागी हुन गएकी थिइन्। सो कार्यक्रममा जानुअघि उनले आफ्नै लेटरप्याडमा हस्ताक्षर गरेर पाँच जना व्यक्तिलाई अमेरिकी दूतावासमा भिसा अन्तरवार्ताको मिति मिलाइदिन सिफारिस गरेकी थिइन्। तीमध्ये उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ थिए।

तर दूतावासले ती व्यक्तिहरूको अमेरिका जाने कारण विश्वसनीय नभएको भन्दै भिसा दिएको थिएन। पछि आन्तरिक छानबिनमा रानाले उपेन्द्र गौतमको आग्रहअनुसार पत्र लेखेको स्वीकार गरेकी थिइन्। जाँच गर्दा ती सबै व्यक्तिहरू विदेश नगएको पनि खुलेको थियो।

त्यसपछि पनि यो विषय चर्चामा आएको थियो। कांग्रेस र एमालेले रानाले नैतिक जिम्मेवारी स्वरूप राजीनामा दिनुपर्ने माग गरेका थिए। तर रास्वपाले भने सत्ता समीकरणमै प्रभाव पार्ने उद्देश्यले विवाद उठाइएको आरोप लगाएको थियो।
डेढ वर्षसम्म थाति रहेको उक्त पत्र फेरि २०८१ असार अन्तिमतिर सार्वजनिक भएपछि विषय पुनः तात्यो। सभामुख देवराज घिमिरेले समेत यसबारे चासो देखाए शीर्ष नेताबीच छलफल चलाएका थिए । रानाले पत्र लेखेको स्वीकार गरे पनि “डेढ वर्षअघिको कुरा अहिले किन सार्वजनिक गरियो भन्ने कुरा बुझ्न नसकेको” बताएकी थिइन्।

त्यस क्रममा कांग्रेस र एमालेका प्रमुख सचेतकहरूले उनले स्वेच्छाले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका थिए। तर उनले राजीनामा दिन अस्वीकार गरेपछि दुवै दलले उनलाई हटाउने तयारी गरेका थिए।

त्यसबेला विवाद सामसुम भए पनि अहिले पुनः पदमुक्त गर्ने प्रक्रिया अघि बढाउन खोजिएको छ। संयोगवश, राना हाल निजी भ्रमणमा अमेरिका गएकी छिन्। उनको सचिवालयका अनुसार, उनी साउन ३० गते अमेरिका पुगेकी हुन् र भदौ १३ गते फर्कने कार्यक्रम छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट