Techie IT
२०८२ भाद्र १७, मंगलबार

विद्यादेवी भण्डारीको सदस्यता बारे एमालेले निर्णय सच्याउने स्थिति आउँछ - उपाध्यक्ष पाण्डे


नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोक्ने निर्णय अन्ततः सच्याइने विश्वास व्यक्त गरेका छन्।

सोमबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै उनले सो निर्णयमा आफूसहित धेरै नेताहरूको फरक मत रहेको उल्लेख गर्दै, “निर्णय नसच्चिएसम्म हामी लागिरहन्छौं,” भने।

भण्डारीको सदस्यता नवीकरणमा एमाले केन्द्रीय कमिटीको पछिल्लो बैठकले रोक लगाएको थियो। सो निर्णयप्रति पाण्डेले लिखित रुपमा फरक मत दर्ता गराएका थिए। तर, पार्टीमा त्यसबारे कुनै औपचारिक सर्कुलर नभएकाले उनले पुनः स्मरण गराएको बताए।

पत्रकारहरूले सोधेको प्रश्नमा उनले भने, “विद्या भण्डारीको प्रवेशलाई पार्टीले रोक्छ भन्ने मलाई लाग्दैन। एमाले पनि अन्ततः फर्कने स्थिति आउँछ। हामी आशावादी छौं, यो निर्णय सच्चिन्छ।”

पाण्डेले एमालेभित्र सदस्यहरूको संख्यात्मक शक्ति निर्णायक हुने भन्दै नेताहरूको एकल निर्णयले पार्टीलाई अघि बढाउन नसक्ने धारणा राखेका थिए । उनले भने, “एमालेका सदस्यभन्दा ठूलो शक्ति कोही छैन। सदस्यहरूको दृढ संकल्पपछि नेताहरूको केही चल्दैन। अन्ततः अवस्था फर्कन बाध्य हुन्छ। अहिले शंका लागे पनि भोलि तपाईंहरूले हाम्रो भनाइ सत्य ठहरेको अनुभव गर्नुहुन्छ।”

यस्तै, उनले एमालेलाई बहस र आन्दोलनमार्फत अघि बढ्ने पार्टीको रूपमा चित्रण गरेका थिए। “एउटा बाटो हिँडिरहँदा पनि हामी अर्को विकल्पबारे बहस गरिरहेका हुन्छौं । एमाले त्यही परम्परामा आएको पार्टी हो, जसले यस्ता धेरै आन्दोलनका परिणाम भोगेको छ,” पाण्डेले भने।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट