माओवादी केन्द्रसँग तत्काल पार्टी एकता गर्ने - विप्लव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने र बाम एकतालाई अगाडि बढाउने निर्णय गरेको छ।
मंगलबार सम्पन्न स्थायी समिति बैठकले महासचिव चन्दले प्रस्तुत गरेको समसामयिक प्रस्ताव पारित गर्दै माओवादी केन्द्रसँग एकता गर्न सकारात्मक निर्णय लिएको हो। यस विषयमा थप छलफल पोलिटब्युरो बैठकमा हुने र त्यसपछि केन्द्रीय समिति बैठकमार्फत ठोस निर्णय गरिने नेकपाले जनाएको छ।
स्थायी समितिका एक सदस्यका अनुसार, माओवादी केन्द्रले पनि तत्काल पार्टी एकताबारे सकारात्मक संकेत देखाएको र बैठकले त्यसलाई स्वागत गरेको छ । बैठक क्रान्तिकारी कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गर्ने विषयमा केन्द्रित भएको पनि उनले बताए ।
नेकपाले अब पोलिटब्युरो र केन्द्रीय समिति बैठकमार्फत पार्टी एकताको ठोस प्रस्ताव र जिम्मेवारी तोकेर अघि बढ्ने तयारी गरेको छ। यी दुवै बैठक पार्टीको केन्द्रीय कार्यालय, शिवगढी कपिलबस्तुमा बस्नेछन् ।
तपाईको प्रतिक्रिया दिनुहोस