Techie IT
२०८२ भाद्र १८, बुधबार

एमाले महाधिवेसनमा २ हजार ३४१ प्रतिनिधि सहभागी हुने


नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन भाद्र २० देखि २२ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ। उद्घाटन भाद्र २० गते बिहान ११ बजे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समारोहका बीच गर्ने तय भएको छ।

आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो। विज्ञप्तिमा महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकको हैसियतमा ३१५ जना सहभागी हुने उल्लेख गरिएको छ। यसरी सहभागीको कुल संख्या २३४१ हुनेछ।

महाधिवेशनलाई “निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य” भन्ने मूल नारासहित भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी भएको बताइएको छ।

उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नुहुनेछ। महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

साथै, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कककडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना प्रतिवेदन पेस गर्नेछन्। प्रस्तुत प्रतिवेदनमाथि सहभागी प्रतिनिधिहरूबीच समूहगत छलफल हुने व्यवस्था मिलाइएको छ। महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्व पनि चयन गर्नेछ।

अध्यक्ष ओलीको प्रतिवेदनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति विश्लेषण गर्दै वर्तमान चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गर्नेछ। प्रतिवेदनमा समाजवादको आधार निर्माण, नेपाली विशेषतासहितको समाजवाद स्थापना र “समृद्ध नेपाल, सुखी नेपाली” राष्ट्रिय गन्तव्यका रूपमा अगाडि बढाउने मार्गचित्र प्रस्तुत गरिने छ।

उपाध्यक्ष पौडेलको विधान संशोधन प्रस्तावमा पार्टीमा दुईखाले सदस्यता व्यवस्था, ७० वर्षे उमेरहद हटाउने, जिल्ला कमिटीलाई कार्यकारी बनाउने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एकतिहाइ पोलिटब्यूरो र १५ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था प्रस्ताव गरिएको छ। पदाधिकारीमा अनिवार्य रूपमा एक महिला रहने व्यवस्था पनि राखिएको छ।

महासचिव पोखरेलले प्रस्तुत गर्ने संगठनात्मक प्रतिवेदनमा पार्टी निर्माणका चुनौती र समाधानका उपाय, राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र, राजनीतिक स्थायित्व, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, विकास, समृद्धि र सुशासनका विषयमा स्पष्ट धारणा राखिनेछ।

महाधिवेशनको तयारीका लागि आठ वटा उपसमिति गठन गरिएको छ। प्रतिनिधि व्यवस्थापन, आवास, स्वयंसेवक परिचालन, स्वास्थ्य, प्रचार, मञ्च सजावट, सांस्कृतिक कार्यक्रम, खाद्य तथा सचिवालय र स्वागत गेट व्यवस्थापनका जिम्मेवारी छुट्टाछुट्टै तोकिएको छ। सातदोबाटो चोकदेखि गोदावरीसम्म यातायात व्यवस्था, झाँकी प्रदर्शन, स्वागत गेट र मञ्च सजावटका काम पूरा भइसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट