सामाजिक सञ्जाल बन्द बिरूद्व प्रभु साहको पार्टीले आज पोखरामा प्रदर्शन गर्ने

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापा मगरले दलाल दलतन्त्रविरुद्ध तेस्रो जनआन्दोलनको तयारीमा जुट्न आह्वान गरेका छन् ।
शनिबार पोखराको रानीपौवास्थित तमु भवनमा आयोजित आजपाको कास्की जिल्ला भेलालाई सम्बोधन गर्दै उनले गणतन्त्रको नाममा मुलुकमा लुट, भ्रष्टाचार, कुशासन र अनियमितता मौलाइरहेकाले तेस्रो जनआन्दोलन अपरिहार्य भएको बताए ।
थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारले लिएको निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी र आपत्तिजनक भएको टिप्पणी गरे । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गरेर संविधानले प्रदान गरेका अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको अधिकार र संगठित हुने अधिकारसमेत उल्लंघन गरेको छ ।
उनले नेपाली कांग्रेस र नेकपा एमालेको अप्रजातान्त्रिक, अप्राकृतिक र अनैतिक गठबन्धनको सरकार जनस्तरमै अस्वीकार्य बन्दै गएको दाबी गरे । यस्तै, रौतहटको मौलापुर नगरपालिकामा भइरहेको विकास मोडेललाई आधार मानेर पोखरालाई पनि विकासमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।
भेलामा आजपा गण्डकी प्रदेश कमिटीका अध्यक्ष भोजराज त्रिपाठीले फेवा तालको सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कारबाही नगरी संरक्षण भइरहेको भन्दै सरकारलाई आलोचना गरे । उनले भ्रष्टाचार र अनियमितता बढ्दै गएको वर्तमान अवस्थामा चुप लागेर बस्न नसकिने बताए ।
भेलाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आइतबार पोखरामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस