सामाजिक सञ्जाल बन्दविरुद्ध नयाँ पुस्ताले भोली सडक आन्दोलन गर्दे

दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप भन्ने नारासहित नयाँ पुस्ता ‘जेन जेड’ ले आगामी ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलन गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल बन्द भएको केही दिनमै सुरु भएको यो अभियानले राजनीतिक वृत्तमा मात्र होइन, पुराना पुस्तामा पनि चासो पैदा गरेको छ ।
जेन जेडले सोमबार माइतीघर मण्डलामा भेला हुने तयारी गरिरहेका छन् । कसले नेतृत्व गर्छ भन्ने प्रस्ट छैन, तर उद्देश्य भने स्पष्ट छ सत्ताको मनोमानी र बढ्दो भ्रष्टाचारविरुद्ध विद्रोह । टिकटकदेखि फेसबुकसम्म अहिले यही ट्रेन्ड छाएको छ । ‘नेपो बेबी ट्रेन्ड’ मार्फत नेताका सन्तानको विलासी जीवनशैली सार्वजनिक हुँदै गर्दा साधारण युवाको संघर्षलाई देखाइएको छ । यसले असमानता र राजनीतिक परिवारको विशेषाधिकारविरुद्ध आक्रोश फैलाएको छ ।
कतिपयले यो आन्दोलन लामो समयसम्म टिक्छ वा टिक्दैन भनेर शंका व्यक्त गरेका छन् । तर, सामाजिक सञ्जालमै घोषणा भए पनि यसको प्रभाव सडकमा देखिनसक्ने धेरैको ठम्याई छ । पुराना पुस्ताका नागरिकले समेत यसलाई नयाँ पुस्ताको राजनीतिक चेतनाको अभिव्यक्ति भन्दै समर्थन जनाएका छन् ।
समाजशास्त्री दिपेश घिमिरे भन्छन्, “जेन जेडले असमानताको जरो नेताका सन्तानको जीवनशैली र जनताको दैनिकीबीच तुलना गरेर देखाएका छन् । उनीहरूको आन्दोलनलाई गम्भीरताका साथ हेरिनुपर्छ ।”
यस आन्दोलनलाई फिलिपिन्स र इन्डोनेसियामा चलेको समान अभियानले पनि प्रेरणा दिएको देखिन्छ । त्यहाँ नेताका सन्तानको ऐश्वर्यमाथि बनेका भिडियो र ‘नेपो बेबी’ ट्रेन्डले ठूलो राजनीतिक बहस उत्पन्न गरेको थियो । नेपालमा पनि जेन जेडले यही स्वरलाई आत्मसात् गरेका छन् । उनीहरूले सामाजिक सञ्जालमै भनेका छन्, “अब हामी चुप बस्दैनौँ—इनफ इज इनफ।”
सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध उत्रिएको यो स्वतःस्फूर्त अभियानलाई लेखक सरिता तिवारीले “भ्रष्टाचारको सञ्जाललाई चुनौती दिने बलियो आन्दोलन” भनी टिप्पणी गरेकी छिन् । लेखक सुधीर शर्माले भने, “भर्चुअल आवाज अब सडकमा पोखिन लागेको छ । यो बाढीले धेरैलाई बगाउन सक्छ ।”
जेन जेडको आक्रोश अहिले ह्यासट्याग र भिडियो मात्र होइन, भौतिक आन्दोलनमा परिणत हुँदैछ । ८ सेप्टेम्बरमा काठमाडौंदेखि पोखरा र विभिन्न सहरमा उनीहरूले प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस