Techie IT
२०८२ भाद्र २३, सोमबार

७० वर्षे उमेर सीमा हटेपछि ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो खुला


राजनीति सधैँ परिवर्तनशील हुन्छ, तर कहिलेकाहीँ परिवर्तनले पुरानोलाई अझ मजबुत बनाइदिन्छ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन त्यस्तै एउटा मोड बनेको छ, जसले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पुनः शक्तिशाली बनाएर तेस्रो पटक नेतृत्व गर्ने बाटो खोलेको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न यो महाधिवेशन केवल संगठनात्मक अभ्यास मात्र थिएन, बरु यसले एमालेको भविष्यको दिशानिर्देश तय गर्यो । राजनीतिक प्रतिवेदनदेखि विधान संशोधन र सांगठनिक प्रतिवेदनसम्म सबै विषय सर्वसम्मत पारित हुनु आफैँमा एउटा सन्देश हो— एमाले अझै पनि नेतृत्व र संरचनात्मक एकतामा ओलीकै वरिपरि घुमिरहेको छ ।

महाधिवेशन सुरु हुनुअघि सबैभन्दा बढी चर्चामा रहेको मुद्दा थियो– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण । तर प्रतिवेदनहरूले यस विषयलाई सिधै सम्बोधन नगरे पनि, अघिल्लो निर्णय सदर भएर नै जाने स्पष्ट देखियो । यसले पार्टीभित्र ओलीको लाइन नै निर्णायक हुने पुनः पुष्टि गरायो ।

महाधिवेशनको सबैभन्दा निर्णायक निर्णय थियो– अध्यक्ष बन्ने उमेर सीमा र कार्यकाल सीमा हटाउने । यसअघि ७० वर्षभन्दा माथि पुगेका व्यक्तिले पद पाउन सक्दैनथे र दुई कार्यकाल मात्र अध्यक्ष हुन सक्ने प्रावधान थियो । तर संशोधनले यी दुबै अवरोध हटाइदियो । यससँगै ओलीलाई अझ लामो समयसम्म पार्टी नेतृत्व गर्ने बाटो खुलेको छ । यो निर्णयले एमालेलाई संस्थागत अनुशासनभन्दा बढी “व्यक्तिगत नेतृत्वकेन्द्रित” बनाएको भनी आलोचना हुने देखिएको छ ।

१० समूहमा विभाजन भएर भएको छलफलले पनि एउटै निष्कर्ष देखायो– अहिले ओलीको विकल्प छैन । सुदूरपश्चिमदेखि मधेस, कोशीदेखि कर्णालीसम्मका नेताहरूले अध्यक्षलाई नै पुनः स्थापित गर्ने धारणा राखे । खासगरी “देशी–विदेशी शक्तिबाट आक्रमण भइरहेको” भन्ने तर्कमार्फत नेताहरूले ओलीलाई निरन्तर नेतृत्व दिनुपर्नेमा जोड दिएका थिए । 

महाधिवेशनले एमालेको संगठनात्मक संरचना पनि पुनः परिभाषित गरेको छ । केन्द्रीय कमिटीलाई ३०१ बाट घटाएर २५१ बनाइयो, पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा सीमित गरियो । वरिष्ठ उपाध्यक्ष पद हटाइयो, स्थायी कमिटीलाई पदाधिकारीसम्म मात्र राखियो र पोलिटब्युरो पनि सानो गरेको छ ।

त्यसैगरी सदस्यता प्रणालीलाई साधारण सदस्य र संगठित सदस्य गरी दुई तहमा विभाजन गरिएको छ । व्यावहारिक रूपमा हेर्दा, यो व्यवस्थाले नयाँ सदस्यलाई ६ महिनाको परीक्षण अवधि पार गर्नुपर्ने भएकाले विधि झन्झटिलो हुने देखिन्छ । 

महाधिवेशनले एमालेको ऐतिहासिक प्रतीक हँसिया–हथौडामा समेत रंग परिवर्तन गरेको छ । सेतो पृष्ठभूमिमा रहेको लोगोलाई अब रातो पृष्ठभूमिमा सुनौलो हँसिया–हथौडाले प्रतिस्थापन गर्ने निर्णय गरिएको छ । 

समापन सत्रमा ओलीले एमालेलाई “वायुपुत्र हनुमान” को उपमा दिँदै, विचलित नभई गन्तव्यतर्फ अघि बढिरहेको बताए । उनले ‘मिसन ०८४’ मा बहुमत ल्याउने घोषणा गरेर आगामी आमनिर्वाचनमा पार्टीको मुख्य लक्ष्य सार्वजनिक गरेका थिए । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट