Techie IT
२०८२ भाद्र २५, बुधबार

सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश कार्कीलाई अघि बढाउ - बालेन


आगामी सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि बढाउने प्रस्तावमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले समर्थन जनाएका छन्।

जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोकराज सिग्देलसमक्ष प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई मेयर बालेनले पनि साथ दिएका हुन्।

सम्वेदनशील समयमा मुलुकको नेतृत्व गर्न इमान्दार र कानून–विधिको रक्षा गर्नसक्ने व्यक्तिको आवश्यकता भएकाले कार्कीको नाम अघि सारिएको बताइएको छ।

बुधबार दिउँसो जेनजी प्रतिनिधिहरूले पूर्वप्रधानन्यायाधीश कार्कीको नाम आधिकारिक रूपमा प्रस्ताव गरेका थिए। तर, त्यसकै विरोधमा अहिले जंगीअड्डाबाहिर भेला भएका युवाहरूले नाराबाजी गरिरहेका छन्।

कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित अन्य नाम पनि अगाडि सारिरहेका छन्। बुधबार दिनभर जेनजी युवाहरूले सामाजिक सञ्जाल डिस्कर्डमार्फत नेतृत्व चयनबारे छलफल गरेका थिए। त्यसमध्ये कार्कीको पक्षमा बलियो समर्थन देखिएको थियो।

यद्यपि, धेरै युवाले मेयर बालेन शाहको नाम पनि अघि सारेका थिए। तर, उनी सम्पर्कमा नआएको गुनासो केही युवाहरूले गरेका छन्। मंगलबार बेलुकी उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै जेनजीलाई सेना प्रमुखसँग वार्ता गर्न तयार रहन भनेका थिए।

बुधबार बिहान जेनजी प्रतिनिधिहरू वार्ताका लागि जंगीअड्डा पुगेका थिए। तर, छलफलमा १५ जनाभन्दा बढी पुगेपछि प्रधानसेनापति सिग्देलले ‘पहिले आपसमा सहमति गरेर संयोजक तोकेर आउनु’ सुझाव दिएका थिए। त्यसपछि जंगीअड्डाकै एक कोठामा बैठक बसेको थियो।

उक्त छलफलमा कतिपयले गणतान्त्रिक व्यवस्थाविरुद्धका प्रस्ताव पनि अघि सारेका थिए। त्यसकै कारण ‘रक्षा बम’ समूह बाहिरिएको बताइएको छ। तर अन्तिममा कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने सहमति भएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट