कांग्रेसका महामन्त्री थापाले जारी गरे पार्टी सुधार र पुनर्गठनबारे १६ मिनेट लामो भिडियो सन्देश

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सुधार र पुनर्गठनबारे १६ मिनेट लामो भिडियो सन्देश जारी गरेका छन्।
‘पार्टीका साथीहरूमा अपिल— हामी सच्चिनेछौं, अनि अझ बलियो भएर उठ्नेछौं,’ भन्दै उनले शुक्रबार सार्वजनिक गरेको सन्देशमा कांग्रेसको गति र मति मिलाउन आफैं जिम्मा लिने प्रतिबद्धता व्यक्त गरे।
थापाले पार्टी शुद्धीकरणका लागि कार्यकर्ताको साथ माग्दै भने, “हामीभित्र भएका सारा फोहोरहरू सफा गरौं, दागहरू मेटाऔं, कांग्रेसलाई कानुनको शासनभित्र रहेर काम गर्ने संस्थाको रूपमा प्रस्तुत गरौं। कांग्रेस सदस्य भएकै कारण कुनै पनि व्यक्तिले राज्यबाट अतिरिक्त सुविधा पाउनु हुँदैन।”
उनले विश्वविद्यालयदेखि विभिन्न संस्थासम्ममा भएको दलीयकरणप्रति असन्तुष्टि जनाउँदै भने, “कांग्रेसले अब समाज र राज्यलाई तीब्र दलीयकरणबाट मुक्त गर्नेछ। यसका लागि तपाईंहरूको साथ आवश्यक छ।”
पार्टी पुनर्संरचनाबारे बोल्दै उनले भ्रातृ संस्था र शुभेच्छुक संगठनहरूलाई निरिह अवस्थामा देखिएको भन्दै गुटउपगुटमा विभाजित कांग्रेसलाई बदल्नुपर्ने आवश्यकता औंल्याए। “पार्टीको विधानमै रहेका तह अब चाहिँदैनन्। पार्टीले छानेका व्यक्ति नेतृत्व र उम्मेदवार बन्नेछन्। नचाहिएका संरचना हटाइनेछ र स्वतन्त्र ढंगले चल्न दिनेछौं। यति गरे पार्टी नागरिकतर्फ फर्कन्छ,” उनले स्पष्ट पारे।
घर तथा पार्टी कार्यालयमा आगजनी हुन आउँदा र सभापति शेरबहादुर देउवामाथि आक्रमण हुन खोज्दा कांग्रेसको खोक्रोपन देखिएको टिप्पणी पनि उनले गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस