म्यान्डेटअनुसार काम गर्छु भने पनि मलाई पत्याउनुभएन - मेयर हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जेन–जी विद्रोहको भावनाअनुसार काम गर्ने प्रस्तावलाई नपत्याइएको गुनासो गरेका छन्। आइतबार फेसबुक लाइभमार्फत् उनले वर्तमान आन्दोलन केवल सत्ता परिवर्तन मात्र होइन, प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीतर्फ जानुपर्ने लक्ष्य राखेको बताए।
साम्पाङ गृहमन्त्री बन्न आकांक्षी थिए र त्यसका लागि दिनभर प्रयास पनि गरेका थिए। तर आफूलाई उक्त अवसर नदिइएको गुनासो उनले व्यक्त गरेका छन् ।
उनले भने, “२०७२ को कानुनमा टेकेर नयाँ नियम, पद्धति बनाउन सकिन्छ त? सकिँदैन। यो विद्रोह अरू केही निर्माण गर्नका लागि हो। म म्यान्डेटअनुसार काम गर्छु भने पनि मलाई पत्याउनुभएन।”
साम्पाङले आफ्नो चरित्रको कारणले पनि गृहमन्त्री पद नपाएको हुनसक्ने बताए। उनले भनिन्, “म भ्रष्टाचार, बेथिति मन पराउँदिन। म नियम, ल एण्ड अर्डर पालना गर्न विश्वास गर्छु। म बलियो, नियमप्रिय मान्छे हुँ।”
उनले वर्तमान आन्दोलनको उद्देश्यलाई चुनाव मात्र होइन, कार्यकारी प्रमुखसहितको स्थायी सरकार स्थापना भएको हुनु पर्ने बताउँदै, “पुरानो संसद ठीक थियो। त्यसलाई किन विघटन गरियो? नयाँ सांसद चयन मात्र होइन, कार्यकारी प्रमुख सहितको संरचना बनाउनुपर्ने थियो। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भइसकेपछि पाँच वर्षसम्म स्थायी सरकार सञ्चालन हुनुपर्छ।”
साम्पाङले यो आन्दोलनमा स्वार्थी खेलाडीहरू पनि रहेको र आफूजस्ता अप्ठ्यारो खालका व्यक्तिहरूलाई समावेश नगरिएको उल्लेख गरे। उनले विदेशीको प्रभावबाट नेपाललाई मुक्त राख्नुपर्नेमा जोड दिए।
साथै उनले नयाँ दल खोल्ने सम्भावना व्यक्त गर्दै, “यी दललाई जनताले म्यान्डेट दिनुपर्छ। म पनि दल खोल्ने सोचमा छु र सबै इच्छुक सहभागी हुन सक्नेछन्।”
तपाईको प्रतिक्रिया दिनुहोस