जनार्दन शर्माले मागे प्रचण्डको राजीनामा, पार्टी रुपान्तरणका लागि १६ बुँदे प्रस्ताव

जेनजी आन्दोलनले पुराना पार्टी र नेतृत्वको औचित्यमाथि प्रश्न उठाइरहेको बेला नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेका छन्।
पार्टीभित्र रुपान्तरणको विषय उठाउँदै आएका शर्मा जेनजी आन्दोलनपछि प्रचण्ड नेतृत्व अब उपयुक्त नरहेको निष्कर्षमा पुगेका हुन्। उनका अनुसार, आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमाथि प्रहार गर्दै नयाँ नेतृत्वको आवश्यकता देखाएको छ।
शर्माले यो विषय पार्टी पंक्तिभित्र छलफलका लागि उठाइसकेका छन्। छलफलमा सहभागी कार्यकर्तामध्ये एकजनाले शर्मालाई उद्धृत गर्दै भने, “जेनजी आन्दोलनले भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमाथि प्रहार गरेको छ, नयाँ नेतृत्व खोजेको छ। अहिलेको परिस्थितिमा मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ।”
भदौ २३ गते काठमाडौंमा भएको प्रदर्शनपछि आन्दोलन हिंसात्मक बनेको थियो। त्यसक्रममा प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए भने सुरक्षा निकायले शीर्ष नेताहरूलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरेको थियो।
मंगलबार पहिलोपटक सार्वजनिक भएका अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कार्यालय अवलोकन गरे। तर शर्माले भने, जेनजी आन्दोलनले लोकतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीको असली रूप उजागर गरेको भन्दै अब नयाँ बाटो खोज्नुपर्ने धारणा राखेका छन्।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरिसकेको छ। यसबीच शर्मा नेतृत्वलाई परिवर्तन गर्दै पार्टीलाई पुनर्गठन गर्नुपर्ने पक्षमा छन्।
शर्माले प्रस्तुत गरेका प्रमुख बुँदाहरूः
१. जेनजी आन्दोलनलाई भ्रष्टाचारविरुद्धको सकारात्मक हस्तक्षेपका रूपमा लिनुपर्छ।
२. दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलाली अन्त्य गर्दै नयाँ राजनीतिक बाटो खोल्नुपर्छ।
३. वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनतर्फ अगाडि बढ्नुपर्छ।
४. सम्पत्ति छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्छ।
५. २०४६ पछि पदमा बसेका सबैको सम्पत्ति छानबिन तथा जेनजी आन्दोलनमा जनधनको क्षतिबारे उच्चस्तरीय आयोग बनाउनुपर्छ।
६. पार्टी मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ।
७. नेतृत्व निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचित मोडेलमा लैजानुपर्छ।
८. पदावधि र पदस्थापनबारे स्पष्ट नीति बनाउनुपर्छ।
९. वर्तमान निर्वाचन प्रणाली अन्त्य गरी पूर्ण समानुपातिक प्रणालीमार्फत संसद् गठन गर्नुपर्छ।
१०. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्छ।
११. दलित, महिला लगायतको मुद्दामा स्पष्ट दृष्टिकोण बनाउनुपर्छ।
१२. सांस्कृतिक विचलन र यौन अराजकताजस्ता घटनाको छानबिन हुनुपर्छ।
१३. शहीद, बेपत्ता परिवार, घाइते, अशक्त र वृद्धहरूको संरक्षण नीति बनाइनुपर्छ।
१४. श्रम तथा उत्पादनमार्फत सबैलाई स्वरोजगार बनाउने अभियान सुरु गर्नुपर्छ।
१५. राष्ट्रियताको रक्षा गर्न पार्टी पंक्तिलाई सतर्क राख्नुपर्छ।
१६. यी लक्ष्य पूरा गर्न उपयुक्त संगठन निर्माण गर्नुपर्छ।
प्रचण्ड पक्षका नेताहरूले भने शर्मामाथि पार्टीभित्र अराजकता मच्चाएको आरोप लगाएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस