मन्त्रिपरिषद् ११ सदस्यभन्दा नबढ्ने, गैर–राजनीतिक व्यक्तिलाई मात्रै मन्त्री बनाइने

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् अधिकतम ११ सदस्यसम्म सीमित गर्ने र त्यसमा कुनै राजनीतिक दलसँग आबद्ध व्यक्तिलाई नसमेट्ने बताएकी छन्।
बीबीसी नेपाली सेवासँगको विशेष अन्तर्वार्तामा उनले भनिन्, “मन्त्रिपरिषद् करिब १० देखि ११ जनाभन्दा नबढ्ने गरी बनाइने हो। कसको क्षमता के हो भन्ने आधारमा जिम्मेवारी दिइनेछ।”
उनका अनुसार हालसम्म तीन मन्त्री बनेका छन् र अब थपिने मन्त्रीहरूमा समावेशिता झल्किने गरी व्यक्तित्व खोजिनेछ। “राजनीतिमा सक्रिय नभएकालाई, कुनै संस्थामा काम गरेका व्यक्तिलाई ल्याउने हो। त्यस्ता मान्छे खोजिँदैछ,” उनले स्पष्ट पारिन्।
राजनीतिक आस्थासँग आबद्ध व्यक्तिलाई मन्त्री बनाए चुनावी कार्यमा असर पर्ने भएकाले चुनाव नलड्ने व्यक्तिलाई मात्रै मन्त्री बनाइने उनको भनाइ छ।
तपाईको प्रतिक्रिया दिनुहोस