राष्ट्रपति पौडेलले नागरिक अगुवाहरूसँग भने संविधान बचाउनका लागि शहिद हुन तयार छु

राष्ट्रपति रामचन्द्र पौडेलले आज नागरिक समाजका अगुवाहरूसँग बिहीबार शीतल निवासमा भेटघाट गर्दै जेन–जेड आन्दोलन र त्यसपछि अन्तरिम सरकार गठनसँग सम्बन्धित प्रसंग सुनाएका छन्।
उक्त भेटमा राष्ट्रपति पौडेलले संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्न आफूले नमानेको बताउँदै भने, “आन्दोलनकारीहरूले प्रतिनिधि सभामा विघटन गरेर प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भन्ने माग राखेका थिए। तर मलाई यो अधिकार छैन। संविधानभन्दा बाहिर जान्नँ। संविधानको रक्षा गर्न म सहिद हुन तयार छु।”
पूर्वराजदूत महेशकुमार मास्के, मानवअधिकारवादी मल्ल के सुन्दरसहित नागरिक अगुवाहरूले राष्ट्रपति पौडेललाई भेटेर राजनीतिक दलहरूको भूमिका खुम्च्याउने वा प्रतिशोध गर्ने काम नगर्न सुझाएका थिए। उनीहरूले संविधानको थप क्षति हुन नदिन सचेत रहनुपर्नेमा जोड दिएका थिए।
राष्ट्रपतिले भदौ २४ गतेको जेन–जेड आन्दोलनको आक्रमणमा घाइते भएका शेरबहादुर देउवासँग फोन सम्पर्क गरेको उल्लेख गरेका छन्। साथै, प्रधानमन्त्री केपी शर्मा ओली र अन्य दलका नेता तथा आन्दोलनकारीहरूसँग पनि सम्पर्कमा रहेर संविधानसम्मत निकासको प्रयास गरेको जानकारी दिएका थिए।
नागरिक अगुवाहरूले भने, सुशीला कार्की प्रधानमन्त्री बनेपछि सरकारले जेन–जेड आन्दोलनकारी, दल र नागरिक समाजसँग समन्वयात्मक काम गर्नु पर्नेछ। राष्ट्रपतिले संविधानको रक्षा गर्दै चुनावको वातावरण तयार पार्न, आपसी समझदारी बढाउन र विश्वासको वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेलेको नागरिक अगुवाहरूले सराहना गरे।
उनीहरूले अन्तरिम सरकारको सिफारिसमा संसद विघटन संविधानसम्मत नभएको र यसले दल र संघसंस्थामा आस्था कमजोर पारेको उल्लेख गर्दै, आगामी चुनाव सुनिश्चित गर्न संवैधानिक व्यवस्थालाई यथावत् राख्न सबै पक्षको दायित्व भएको बताएका थिए ।
भेटमा सहभागी नागरिक अगुवाहरूमा महेशकुमार मास्के, मल्ल के सुन्दर, परशुराम तामाङ, रत्नसंसार श्रेष्ठ, कुन्दन अर्याल, जगत देउजा, टीकाराम भट्टराई, कनकमणि दीक्षित, चण्डेश्वर श्रेष्ठ, राजेन्द्र महर्जन, गीता त्रिपाठी, बिन्दु शर्मा, शरद वन्त, र सुशील प्याकुरेल रहेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस