Techie IT
२०८२ असोज २, बिहीबार

विष्णु पौडेल भन्दै सडकमा कुटिएका थिए आन्दोलकारीलाई निशुल्क उपचार गराइरहेका ग्रिनसिटी अध्यक्ष टण्डन


भदौ २४ गते उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कुटिएको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। तर वास्तविकतामा कुटिएका व्यक्ति मन्त्री पौडेल नभई ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन रहेका बताइएको छ ।

पौडेलको सचिवालयले भिडियोमा देखिएका व्यक्ति मन्त्री नभएको विज्ञप्ति जारी गरे पनि धेरैले अफवाहलाई नै सत्य ठानेर सामाजिक संजालमा शेयर गरिरहेका थिए । अहिले पनि धेरै मानिसले पौडेल कुटिएको विश्वास गरिरहेका छन् ।

लोकबहादुर टण्डन आन्दोलनकारीलाई निःशुल्क उपचार गराइरहेका बेला आफैं आक्रमणमा परेका थिए। उनले आफ्नै अस्पतालमा अप्रेसन सम्भव नभएका दुई घाइतेलाई मनमोहन अस्पताल पुर्याएर फर्कने क्रममा आन्दोलनकारीको भीडबाट निर्घात कुटाइ खाएका हुन् ।

“२४ गते बिहानै आकस्मिक रक्तदानमार्फत २१८ प्वाइन्ट रगत संकलन गरेर घाइतेको उपचारमा सहयोग गरिरहेको थिएँ। तर बिरामी पुर्याएर फर्कंदा ‘अर्थमन्त्री भाग्यो’ भन्दै भिडले मलाई आक्रमण गर्‍यो, एम्बुलेन्स पनि तोडफोड गर्‍यो,” टण्डनले भने।

केही युवाले उनलाई ग्रिनसिटी अस्पतालका अध्यक्ष भनेर पहिचान नगरेको भए ठूलो दुर्घटना हुने उनले बताए । लोकबहादुरका भाइ शंकर टण्डनले घाइतेलाई सहयोग गर्ने मान्छेलाई नै आन्दोलनकारीले आक्रमण गर्नु दुःखद भएको बताएका छन् । “कसैको भनाइमा नेतामान्छे यही हो भन्दै सर्वसाधारणलाई कुटियो, सम्पत्ति नष्ट गरियो। यस्ता अपराधीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ,” उनले भने।

लोकबहादुरले २४ गते घाइते अमित डुम्रे र लक्ष्मण कंडेललाई मनमोहन अस्पताल पुर्याएको प्रमाणस्वरूप भिडियो पनि उपलब्ध गराएका छन्। भिडियोमा दुवैको हातमा गोली लागेको देखिन्छ। हाल टण्डन घरमै उपचारपछि आराम गरिरहेका छन्। ठूलो घाउ नभए पनि निर्घात कुटाइका कारण बाहिर निस्कन नसकेको उनले बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट