राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति - अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यमान संविधानलाई संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न सकिने बताएका छन्।
संविधान दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले २०७२ सालमा संविधान निर्माणका क्रममा माओवादीले राखेको फरक मतलाई अहिले सम्बोधन गर्ने समय आएको बताए।
उनका अनुसार त्यतिबेला नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानका विषयलाई समेटिनु जरुरी थियो। तर तत्कालीन ठूला दल कांग्रेस र एमालेको असहमतिकै कारण ती प्रस्ताव अस्वीकार गरिएको भन्दै उनले अहिलेको जेन–जी आन्दोलनले त्यसलाई पुष्टि गरिदिएको बताएका छन् ।
‘राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक छ भन्ने हाम्रो धारणा थियो। बहस भयो तर सहमति भएन,’ प्रचण्डले भने, ‘यदि त्यतिबेलै सहमति भएको भए आजको परिस्थिति फरक हुन्थ्यो, जेन–जी आन्दोलनको आवश्यकता पर्थेन र यति ठूलो क्षति हुने थिएन।’
उनले जेन–जी आन्दोलनले प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानको सवाल सही रहेको प्रमाणित गरेको भन्दै संविधानलाई संशोधन गरेर १० वर्षपछि भए पनि त्यही दिशामा अघि बढ्नुपर्ने धारणा दोहोर्याए।
प्रचण्डले तत्कालीन ठूला दलहरूको अहंकार र असावधानीकै कारण आजको संकट उत्पन्न भएको आरोप लगाउँदै संविधान निर्माणको बेलामा नै जनचाहनालाई बेवास्ता गरिएको टिप्पणी गरेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस