Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

एमालेभित्र कुनै विग्रह हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल


 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र कुनै पनि किसिमको विग्रह नहुने दाबी गरेका छन्।

संविधान दिवसको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमालेको आन्तरिक एकता र स्थायित्वबारे शंका गर्नेहरूप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।

‘एमालेले अहिले केही नोक्सानी बेहोर्नु परेको छ। तर हामी धुलो टक्टक्याउँदै उठ्छौँ, उठिछोड्छौँ, पार्टीलाई नयाँ ढंगले निर्माण गर्छौँ,’ उनले भने, ‘देशव्यापी रूपमा संविधान दिवस मनाइरहँदा एमालेभित्र केही विग्रह होला भन्ने शंका उठ्न सक्छ। तर एमालेभित्र कुनै पनि प्रकारको विग्रह हुनेवाला छैन, हामी त्यसलाई हुन दिनेछैनौँ।’

पोखरेलले कमजोरीहरूलाई आत्मसमीक्षा गर्दै सच्याउँदै अघि बढ्ने अठोट पनि व्यक्त गरेका छन् । ‘कमजोरीहरू सच्चिन्छन्, हामी समीक्षा गर्छौँ र सच्याउँछौँ, तर पार्टीमा विभाजन हुन दिइँदैन,’ उनले भने ।

एमाले कुनै सजिलो यात्राबाट आएको पार्टी नभएको उल्लेख गर्दै उनले भने, ‘एमाले शान्त तलाउमा डुंगा चलाएर आएको पार्टी होइन, यो कसैले किस्तामा हालेर दिएको उपहार पनि होइन। यो असंख्य अग्रज र शहीदहरूको संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि हो। यही पार्टीलाई हामी फेरि नयाँ ढंगले अघि बढाउँछौँ।’

उनले सामाजिक एकता खल्बलिँदा राष्ट्रिय एकता कमजोर हुने चेतावनी दिँदै नेपाल जस्तो बहुजाति, बहुभाषा, बहुधर्म र बहुसांस्कृतिक देशमा सामाजिक सद्भाव जोगाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए। सामाजिक सद्भाव खल्बल्याउने जुनसुकै शक्तिलाई पनि एमालेले पराजित गर्ने उनले दृढता प्रकट गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट