Techie IT
२०८३ असार ३२, बिहीबार

भ्रष्टाचार अन्त्य गर्न शक्तिशाली लोकपाल आयोग गठन गरौं - पूर्वप्रधानमन्त्री डा. भट्टराई


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्तिको अभियानबाट आफू अलग नभएको प्रष्ट पारेका छन्। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पद बुधबार त्याग गरेका उनले बिहीबार पत्रकार सम्मेलनमार्फत यस्तो प्रष्टिकरण दिएका हुन्।

भट्टराईले विद्रोहका बेला लुकेर बसेका पुराना भ्रष्ट नेताहरू अहिले फेरि बाहिर निस्केर सक्रिय बनेको भन्दै सचेत रहन सबैलाई आग्रह गरेका छन्।

उनी भन्छन्, “म कुनै आन्दोलनबाट अलग भएको छैन। नयाँ वैकल्पिक शक्तिको अभियानमा हिजो पनि थिएँ, आजपनि छु, भोलि पनि रहन्छु। हाम्रा नाति पुस्ता आइसकेका छन्, उनीहरूलाई प्रोत्साहन गर्नुपर्छ भनेर मैले नैतिकताका आधारमा पद त्याग गरेको हुँ। नयाँ शक्ति अभियानबाट अलग भएको छैन। यसमा विल्कुल भ्रम नरहोस्।”

भट्टराईले राजनीति स्थायित्वका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन अनिवार्य भएको दोहोर्‍याएका छन् । साथै, भ्रष्ट नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली लोकपाल आयोग गठन गर्नुपर्नेमा जोड दिए।

उनले थपे,“भ्रष्ट नेताहरू फेरि बाहिर निस्केर सक्रिय छन्। ती शक्तिलाई बेलैमा चिन्नुपर्छ। केहीले विदेशी शक्तिको आडमा विद्रोह गरेको दाबी गर्छन्, तर यो विद्रोह यहाँका युवाहरूले आवश्यकता अनुसार गरेका हुन्। भ्रष्ट नेताहरूको अकूत सम्पत्ति छ, त्यसलाई छानबिन गर्न शक्तिशाली लोकपाल आयोग गठन गर्नुपर्छ। केही सम्पत्ति जलेको भनिएको छ, तर सम्पूर्ण सम्पत्ति छानबिन नगरिईकन भ्रष्टाचार अन्त्य गर्न सकिँदैन।”

भट्टराईले देश र जनताको परिवर्तनका लागि आफूले आजीवन लड्दै आएको राजनीतिक अभियानलाई स्मरण गराए। भदौ २३ र २४ गतेको जेनजी विद्रोहलाई उनले २००७ सालदेखिको लोकतान्त्रीकरण गर्ने नयाँ कडी भएको बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट