मैले भ्रष्टाचार गरिनँ, गर्दिनँ । यही मेरो अपराध हो? - अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्नु नै अहिलेको ‘अपराध’ भएको बताएका छन्। पार्टी निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको प्रतिनिधि मण्डलसँग बिहीबार गुण्डुमा भएको भेटवार्तामा ओलीले भ्रष्टाचार नगरेको कारण आफूविरुद्ध प्रहार भइरहेको दाबी गरेका छन् ।
‘मलाई राम्ररी थाहा छ अहिले ममाथि प्रहारको निशाना केन्द्रित गरिएको छ। म सोच्छु, मेरो अपराध के हो त? भ्रष्टाचार नगर्नु अपराध हो । मैले भ्रष्टाचार गरिनँ, गर्दिनँ । यही मेरो अपराध हो,’ ओलीको भनाइ उद्धृत गर्दै प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए।
ओलीले विकासको खाका कोरेर पूर्वाधार निर्माणमा नेतृत्व लिनु, समाजमा शान्ति र सुव्यवस्था कायम गर्नु, हिंसा र पृथकतावादको अन्त्य गरी राष्ट्रिय एकताको पक्षमा काम गर्नु नै अहिलेको ‘अपराध’ ठहरिएको प्रश्न समेत उठाएका थिए ।
‘मैले नेतृत्व गर्ने ठाउँमा नेतृत्व गरेँ। देशमा हिंसाको अन्त्य गरेँ। पृथकतावादको वकालत गर्ने शक्तिलाई राष्ट्रिय एकताको मूलधारमा ल्याएँ। यो पनि अपराध हो?,’ उनले प्रश्न गरे।
हालको आन्दोलन र अशान्तिबारे ओलीले ‘जेनजी’लाई दोष लगाउन नसकिने भन्दै सरकारलाई उक्साउने गतिविधि र भड्काउने प्रयासको खोजी गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले राजनीतिक दलको प्रणाली हटाउन खोज्ने शक्तिहरूको योजना के हो भन्नेबारे पनि प्रश्न उठाए। ‘यदि लोकतन्त्र होइन भने के व्यवस्था ल्याउन खोजिएको हो? त्यसको उत्तर आउनुपर्छ,’ ओलीले भने।
ओलीले भूपरिवेष्टित राष्ट्रलाई भूजडित राष्ट्र बनाउने, सार्वभौमसत्ता र स्वाधीनताको झन्डा उचाल्दै देशलाई विश्वमा पहिचान दिलाउने कार्यलाई पनि अपराध जस्तो ठानिएको भन्दै आपत्ति जनाएका छन् ।
देशलाई कानुन र न्यायसम्मत तरिकाले अघि बढाउन आग्रह गर्दै उनले भने, ‘मानिसहरूमाथि प्रतिशोध, अपमान र बेइज्जत गर्ने तरिका अपनाउनु वाञ्छनीय होइन । त्यसले सामाजिक तनाव र अशान्ति थप्न सक्ने चिन्ता समेत व्यक्त गरेका छन् ।’
पार्टीभित्र उठेका रूपान्तरण र पुनर्गठनबारेका प्रश्न फोरम र पार्टी कमिटीमार्फत समाधान हुने उनले स्पष्ट पारेका छन् । त्यस्तै, प्रेस स्वतन्त्रता र वाक् स्वतन्त्रताको पक्षमा आफू रहेको बताउँदै ओलीले फरक विचारका विरुद्ध सामाजिक सञ्जालमा ‘झोले ट्रेन्ड’ चलाउने प्रवृत्ति असभ्य भएको टिप्पणी गरेका छन् ।
‘कसको घरमा आगो लगाउने, किच्याइ–किच्याइ मार्ने जस्ता प्रवृत्ति नेपालमा को ल्याउँदैछ, यसको खोजी हुनुपर्छ। युवा यसमा सचेत रहनुपर्छ,’ उनले भने।
तपाईको प्रतिक्रिया दिनुहोस